लागुऔषधसहित भारतीय नागरिक बागलुङबाट पक्राउ

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

बागलुङ, २६ जेठ । अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्ज, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ ।

हरिजनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिलकुमार खड्काले जानकारी दिए । हरिजन भारतबाट लागुऔषध ल्याई बागलुङ आसपासका क्षेत्रमा बेच्ने कार्यमा सक्रिय थिए । ‘लागुऔषधको कारोबारमा ठूलै गिरोह सक्रिय छ,’ डिएसपी खड्काले भने, ‘प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।’

गत मंगलबार मात्रै लागुऔषधसहित तीन युवकलाई प्रहरीले बागलुङ–पर्वत सीमास्थल मालढुंगाबाट पक्राउ गरेको थियो । तीमध्ये एक युवक बागलुङ नगरपालिका–३ बस्ने सुनिल पुन प्रहरीलाई छलेर भाग्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता छन् ।

बागलुङबाट ट्याक्सीमा पर्वतको कुश्मा जाँदै गरेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामा प्रहरीको नियन्त्रणमा छन् । उनीहरुको साथबाट लुकाई छिपाई राखेको लागुऔषध डाइजेपाम तीन, नुर्फिन तीन, फेनार्गन चार एम्पुल, नाइट्राजेपाम तीन र चार थान सुई प्रहरीले बरामद गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट