चुनावपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुडमा देउवा, राजधानीमा भिडभाड नगरी गाउँ जान नेताहरुलाई निर्देशन

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्नेमा पुगढेका छन् । उनले आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् ।

मन्त्री पदका लागि दर्जनौँ सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै सांसदहरुलाई काठमाडौंमा भिडभाड नगरी चुनावमा खट्न निर्देशन दिएका छन् ।

आफ्नो पक्षका मात्रै मन्त्री राखेर सानो मन्त्रिपरिषद् बनाएका प्रधानमन्त्री देउवाले रामचन्द्र पौडेल पक्षलाई बढीमा ४ मन्त्रालय दिने तयारी गरेका छन् । कांग्रेसको भागमा १० मन्त्रालय पर्ने सत्तारुढ गठबन्धनवीच सहमति भएको छ ।

कांग्रेसले पाउने १० मध्ये यसअघि नै तीनजना मन्त्री भइसकेका छन् । गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फर्मूल्लाह मन्सुर तीनैजना देउवा पक्षका हुन् । अब देउवा पक्षबाट तीनजना मात्रै मन्त्री थपिनेछन् । बाँकी पौडेल पक्षले पाउनेछ ।

पौडेल पक्षले भने मन्त्रालयको टुंगो नलागेसम्म नाम नदिने देउवलाई बताइसकेका छ । तर, मन्त्रालय टुंगो लाग्नासाथ आफ्नो पक्षका ४ जनाको नाम देउवालाई बुझाउने पौडेल पक्षले तयारी गरेको छ ।

पौडेल पक्षले अर्थ मन्त्रालय देउवाले आफ्ना निकटस्थ ज्ञानेन्द्र कार्कीलाई दिएपछि अब भौतिक पूर्वाधार आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ । भौतिक पूर्वाधार मन्त्रालय पाएमा बलबहादुर केसीलाई पठाउने पौडेल पक्षको तयारी छ ।

पौडेल पक्षबाट मन्त्रीका लागि डा.नारायण खड्का, बद्री पाण्डे, रामकृष्ण यादव, जीवन परियार र सरिता प्रसाईको नाममा छलफल भइरहेको छ । राजन केसीको नाम पनि प्रस्तावमा ल्याइएको छ ।

देउवा पक्षबाट अब मन्त्री थपिने तीनैजना नयाँ अनुहार हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । ललितपुरका मदन अमात्य, सुनसरीका मीन विश्वकर्मा, पाँचथरका भीष्म आङदेम्बे, काठमाडौंका ध्यानगोविन्द रञ्जित र डोटीका वीरवहादुर बलायर देउवाको प्राथमिक सूचीमा छन् । त्यसैगरी देउवा पक्षबाट भरतकुमार शाह, रामहरि खतिवडा लगायतले पनि विमलेन्द्र निधीमार्फत देउवामाथि दबाव बढाएका छन् ।

खुमबहादुर खड्काले आफ्नो कोटाबाट सिन्धुपाल्चोकका मोहन बस्नेतलाई मन्त्री बनाउन दबाब दिएका छन् । यसअघि खड्काको कोटाबाट शंकर भण्डारी मन्त्री भएका थिए । भण्डारी र बस्नेत दुवै खुमबहादुर निकट नेता हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट