धरानमा प्रमुख दललाई मेयरभन्दा उपमेयर छान्न सकस

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

धरान, २५ जेठ । स्थानीय तह निर्वाचनका लागि धरान उपमहानगरपालिकामा मुख्य राजनीतिक दलहरुले मेयर पदका उम्मेदवारको टुंगो करिबकरिब लगाइसकेका छन् । तर, उपमेयरमा भने अझै अन्यौल कायम छ । धरानमा क्रियाशील दलहरुभित्र उपमेयरका आकांक्षी धेरै देखिएका छन् । आकांक्षीहरुको राजनीतिक योगदान र सामाजिक हैसियत पनि उस्तैउस्तै भएकाले उपमेयरको उम्मेदवार चयन गर्न दलहरुलाई सकस परेको छ ।

धरानमा राप्रपाले सबैभन्दा पहिला उपमेयरको उम्मेदवार घोषणा गरेको छ । राप्रपाले प्रकाश राईलाई उपमेयरका लागि उम्मेदवार बनाएको छ ।

पारस काङवाङ राईलाई उपमेयरका लागि उम्मेदवार घोषणा गरेर चुनावी अभियान सुरु गरेको संघीय समाजवादी फोरम भने राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति नेपालका साथै क्षेत्रीय पार्टीहरुसँग मोर्चा बनाएर मेयरको उम्मेदवार चयन गर्ने कसरतमा लागेको छ ।

माओवादी केन्द्रबाट उपमेयर पदका लागि गंगा बराल र कमला अधिकारीको नाम चर्चामा रहेको छ । महिला सञ्जालकी संस्थापक अध्यक्ष र हाल संचारीका समूहमा आबद्ध बरालको भन्दा महिला सञ्जालकै वर्तमान सचिव अधिकारीको संभावना धेरै भएको जानकारहरु बताउँछन् ।

कांग्रेसले केही दिनअघिसम्म श्यामा रेग्मीलाई उपमेयरको उम्मेदवारमा टुंगो लगाएको भनिए पनि अहिले शिला बज्राचार्यको नाममा सहमति खोजिदै गरेको कांग्रेसनिकट स्रोत बताउँछ । तर, श्यामा रेग्मीले भने आफू उपमेयरको उम्मेदवार भएको भन्दै मत माग्न थालिसकेकी छन् ।

उपमेयर चयनमा सबैभन्दा धेरै सकस एमालेमा छ । एमालेमा सावित्री श्रेष्ठ र मञ्जु भण्डारी टिकटको दौडमा छन् । दुईपटक संविधानसभा निर्वाचनमा समानुपातिकबाट उम्मेदवार बनाइए पनि मौका नपाएकी श्रेष्ठ योग्यता र व्यक्तित्वको हिसाबले उपमेयरका प्रवल दाबेदार हुन् । राजनीतिक योगदानका हिसाबले पनि उनी भण्डारीभन्दा अगाडि छन् । ०२७ सालदेखि नै राजनीतिमा क्रियाशील श्रेष्ठ धरानमा लोकिप्रय छिन् । त्यसमाथि धरानको बजार क्षेत्रमा नेवार समुदायको बाक्लो जनसंख्या छ । तर, एमालेले मेयर एउटा गुटलाई र उपमेयर अर्को गुटलाई बाँड्ने गरी निर्णय ग¥यो भने चाहिँ महिला सञ्जालकी सहसचिव रहेकी मञ्जु भण्डारीले टिकन पाउने छिन् । गुटका कारण केन्द्रले उपमेयर उम्मेदवार चयन गर्दा आफूले मौका पाउनेमा मञ्जु ढुक्क छिन् ।

केही महिना अगाडि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र महिला सुरक्षा मजदुरमाथि कलाकार सन्तोष पन्तले अभद्र व्यवहार गर्दा महिला सञ्जालका नेतृत्वले पन्तलाई उन्मुक्ति दिन भूमिका खेलेको थियो । अहिले उपमेयरमा दाबी गर्नेहरुमा महिला सञ्जालका वर्तमान नेतृत्वमा रहेका महिलाहरुकै बाहुल्यता देखिन्छ । यस्तो अवस्थामा न्यायिक फाट हेर्नुपर्ने उपमेयरको पदमा जसले बाजी मारे पनि भविष्यमा उनीहरुले न्याय सम्पादन गर्न सक्लान् र ? भन्ने शंका पनि गर्न थालिएको छ ।

चुनाव नजिकिदै गर्दा धरानमा टिकटको लागि भइरहेको प्रतिस्पर्धा पनि हेर्न लायक बन्दै गएको छ । तर, बाजी कसले मार्ला ? त्यसका लागि चाहिँ केही समय प्रतिक्षा गर्नै पर्ने भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट