अब अदालतमा फेसबुक र ट्वीटर चलाउन नपाइने

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, २५ जेठ । अदालतका न्यायाधीशसहित सबै कर्मचारीले अब कार्यालय समयमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन् । सर्वोच्च अदालतले न्यायाधीश, कर्मचारी तथा अदालतमा कार्यरत अन्य जनशक्तिलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगाएको हो ।

सर्वोच्चले १० बुँदे परिपत्र गर्दै न्यायपालिका र न्यायिक काम कारबाहीप्रति असर पर्नेगरी कुनै पनि टिका–टिप्पणी नगर्न पनि निर्देशन दिएको छ । निर्देशनविपरीत काम गरे कारबाहीको अधिकार सम्वन्धित कार्यालयको प्रमुखलाई दिइएको छ । निर्देशन सबै तहका अदालत र न्यायाधीकरणमा लागू हुनेछ ।

सर्वोच्चले पदीय हैसियत तथा कार्यरत निकायको नामबाट प्रचलनमा ल्याइएका सामाजिक सञ्जालका अकाउण्ट बन्द गर्न र थप नखोल्न निर्देशन दिएको छ । सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त टिका(टिप्पणी नगर्न पनि निर्देशन दिइएको छ ।

अदालतको १९ जेठको निर्णयबमोजिम सामाजिक सञ्जाल प्रयोग निर्देशिका जारी गरिएको हो । न्यायाधीश आचारसंहिता, निजामति सेवा ऐन, निजामति सेवा नियमावली, राष्ट्रसंघको मिलान घोषणापत्रमा उल्लेखित न्यायाधीश र कर्मचारीले पालना गर्नुपर्ने पदीय र पेशागत मर्यादाअनुसार आचारसंहिता जारी गरिएको हो ।

अदालतले पदीय दायित्वका काम कारबाहीमा गुनासा भए सामाजिक सञ्जालभन्दा सम्बन्धित निकायमा जानकारी गराउन कर्मचारीलाई निर्देशन दिएको छ । न्यायपालिका र न्यायिक कारबाहीमा असर पर्नेगरी टिकाटिप्पणी नगर्न पनि निर्देशन दिइएको छ ।

कार्यालय समयबाहिर न्यायाधीश र कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा पदीय मर्यादा ख्याल गर्न निर्देशन दिइएको छ । न्यायपालिका र न्यायाधीशको काम कारवाहीमा आँच आउने भ्रम सिर्जना गर्ने र राजनीतिक उद्देश्य प्राप्तिका प्रचार सामाग्री शेयर नगर्न पनि निर्देशन दिएको छ ।

कार्यालय समयमा कर्मचारी र सुरक्षाकर्मीले समेत मोवाइल तथा कम्प्युटरमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न पनि निर्देशन दिएको छ । तोकिएको आचारण पालना नगरेमा कारबाहीको अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट