गाउँपालिका अध्यक्षले प्रधानाध्यापक हुँदा भ्रष्टाचार गरेको भन्दै विद्यालयमा तालाबन्दी

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

जाजरकोट, २५ जेठ । जनप्रतिनिधिले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालिका वडा नं ६ का स्थानीयबासीले यहाँको इन्द्रज्योति माविमा तालाबन्दी गरेका छन् ।

विद्यालयमा मनोमानी तरिकाले भ्रष्टाचार गरेको, विभिन्न शीर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्णबहादुर शाहीले बताए ।

विद्यालयमा तालाबन्दी गर्दै तत्कालीन प्रधानाध्यापक तथा हालका शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीमाथि लाखौँ रकम अनियमितता गरेको आरोप लगाएको छ । ०६८/६९ सालमा साविकको गाउँ विकास समिति थालारैकरबाट उच्च मावि सञ्चालनका लागि ल्याइएको १२ लाख ९७ हजार रुपैयाँ उच्च मावि सञ्चालन नगरी अनियमितता भएको आरोप लगाइएको छ ।

त्यस्तै, ०७२/७३ मा सांसद रीता रावलले सांसद विकास कोषमार्फत उपलब्ध गराएको १ लाख ७२ हजार रुपैयाँ फर्निचर निर्माण नगरी हिनामिना भएको पनि आरोप लगाइएको छ । फिल्ड निर्माणका लागि खेलकुद विकास समितिद्वारा उपलब्ध गराएको १० लाख रुपैयाँको काम नगरी अनियमितता गरेको आन्दोलनकारीले आरोप लगाएका छन् ।

०७३/७४ मा गाविसबाट विद्यालयको भवन निर्माणका लागि ल्याएको ३ लाख रकम काम नगरी हिनामिना गरेको, ०७१ सालदेखि अहिलेसम्म प्रतिविद्यार्थी ३ हजार रुपैयाँका दरले प्रमाणपत्र लिएबापत उठाएको रकम विद्यालयको खातामा नभएको समेत आरोप लगाइएको छ ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक नरेन्द्र शाहीले अहिलेका प्रअ निमबहादुर खत्रीलाई खाता, हिसाब अहिलेसम्म उपलब्ध नगराएको समेत आन्दोलनकारीले आरोप लगाएका छन् । तालाबन्दी गर्नुको कारण जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालयसमेतलाई जानकारी गराएको र सबै कुराको हिसाब नहुञ्जेलसम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक कृष्णबहादुर शाहीले बताए ।

धेरै पटक हिसाब माग्दा पनि तत्कालीन शाहीले वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक शाहीले बताए । चुनाव हारेको झोँकमा आफूमाथि आरोप लगाइएको अध्यक्ष नरेन्द्र शाहीले बताए । केही काम भएको र बाँकी काम हुँदै गरेको पनि उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट