सीमादेखि आधा किलोमिटर नजिक रक्सी पसल नराख्न बिहारका अधिकारीको आग्रह

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

सप्तरी, २५ जेठ । भारतको बिहार राज्य सरकारले आफ्नो राज्यमा मदिरा प्रतिबन्ध गरेको छ । बिहारमा प्रतिबन्ध लागेपछि बिहारीहरु रक्सी खान नेपालतर्फ आउने गरेका छन् ।

बिहारका विभिन्न जिल्लाका अधिकारीहरुले रक्सी नियन्त्रणमा सहयोग गर्न नेपाली अधिकारीसमक्ष आग्रह गरेका छन् । उनीहरुले सीमानामा रक्सी पसलहरु नराख्न नेपालसमक्ष आग्रह गरेका छन् ।

सीमावर्ती दुबै देशका अधिकारीहरुबीच बुधबार बिहारको सुपौलमा सुरक्षासम्बन्धी बैठक भएको थियो । बिहारका अधिकारीहरुले उक्त बैठकमा यस्तो आग्रह गरेका हुन् । भारतीय अधिकारीहरुले बिहारमा रक्सीमा बन्देज लगाइएपछि नेपालीहरुले सीमामै पसल थापेकाले पिउनेहरुका लागि सहज भएको बताए ।

‘उनीहरुले सीमादेखि कम्तिमा आधा किलोमिटरसम्म रक्सीको पसल नराख्न आग्रह गरेका छन्,’ बैठकमा सहभागी सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले भने, ‘हामीले यसबारेमा सकारात्मक जवाफ दिएका छौँ ।’ बैठकमा नेपालका तर्फबाट सप्तरीसहित सुनसरी, मोरङ, झापा तथा भारतको तर्फबाट बिहार राज्य अन्तर्गत सुपौल, किसनगञ्ज र अररिया जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

बैठकमा सीमाको प्रयोग गरेर हुने चोरी, तस्करी, हातहतियारसहितका बिषयमा छलफल भएको बताउँदै कट्वालले दुबै देशका सुरक्षा अधिकारी यसमा सकारात्मक रहेको बताए । बैठकमा नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनको समयमा सीमा सिल गर्ने सम्बन्धमा पनि छलफल भएको उनले बताए ।

बैठकमा नेपालका तर्फबाट सप्तरीसहित सुनसरी, मोरङ, झापा तथा भारतको तर्फबाट बिहार राज्यअन्तर्गत सुपौल, किसनगञ्ज र अररिया जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट