सुर्खेत-दैलेख-रारा ताल हुँदै चीनसम्म सडक जोडिने

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

दैलेख, २५ जेठ । दैलेखको पञ्चकोसी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ पञ्चकोसी राजमार्ग निर्माण गरिने भएको छ । सरकारले बजेटमा सुर्खेतदेखि दैलेख सदरमुकाम हुँदै महावु–जुम्ला, रारा ताल हुँदै चीनसितको सम्बन्ध विस्तारका लागि नाँक्चे नाग्लासम्मको सडक विस्तार गर्ने महत्वपूर्ण योजना ल्याएपछि दैलेखवासी खुसी छन् ।

पञ्चकोसी क्षेत्रको नामबाट दैलेख परिचित भएकाले उक्त सडकको नामै पञ्चकोसी राजमार्ग राखिएको अर्थ मन्त्रालयका सल्लाहकार डा पूण्यप्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार दैलेख सदरमुकाम हुँदै पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणसमेत हुने सडक भएकाले यसको नाम पञ्चकोसी राजमार्ग राखिएको छ । बजेटमा व्यवस्था गरेर रकम विनियोजनसँगै काम सुरु हुने उनले बताए ।

पञ्चकोसी राजमार्ग सञ्चालन भएमा सुर्खेतको देउती बज्यै, दैलेखको कोटिला, शिरिस्थान, नाभिस्थान, पञ्चिस देवल, महावु धाम, जुम्लाको चन्दननाथ, मुगुको रारा हुँदै मानसरोवरसम्म सडकबाट पुग्न सहज हुनेछ । चीनसँगको सम्बन्ध विस्तारका लागि पनि सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

दैलेख जिल्ला भ्रमणमा आएका बेला दैलेखका पत्रकारले सञ्चालन गरेको पर्यटन महोत्सवलाई थप सहयोग पुग्ने अभियानसँगै पत्रकारले मुख्य मागको रुपमा राखेको दैलेखको कोटीला मन्दिर क्षेत्रमा मानव निर्मित ताल निर्माणमा समेत यो वर्षदेखि काम सुरु हुने रेग्मीले बताए ।

दैलेख सदरमुकामभित्र रहेका ऐतिहासिक कोतगडी र पञ्चदेवलको विकासका लागि पनि सरकारले रकम विनियोजन गरेको रेग्मीले बताए । यसअन्तर्गत विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सिफारिस भएको पञ्चिस देवलसम्म सहज आवतजावतका लागि गणेशचोक हुँदै भुर्ती पञ्चदेवल, पिउसेसम्म सडकले जोडिने भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट