दोस्रो संविधानसभाको चुनावमा एकै भोट नखसेको थवाङमा चुनावी सरगर्मी बढ्यो

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, २३ जेठ । रोल्पाको थवाङबाट दोस्रो संविधानसभा निर्वाचनमा एउटा पनि मत खसेन । तर, यस पटक थवाङमा चुनावी सरगर्मी बढेको छ । पहिलो चरणको चुनाव बहिस्कार गरेको विप्लव नेतृत्वको नेकपा पनि थवाङमा चुनाव लड्ने तयारीमा छ । नेकपाले निर्वाचन आयोगमा दल दर्ता नगराएकोले उसले स्वतन्त्र रुपमा चुनाव लड्नुपर्ने हुन्छ ।

थवाङका विप्लव समूहका एक नेताले थवाङवासी जनताले चुनाव बहिस्कार नगरिदिए हुन्थ्यो भन्ने चाहाना राखेको केन्द्रीय निर्देशन आएपछि आफूहरु चुनावमा सहभागी हुने बताए । थवाङ माओवादीको आधार क्षेत्र हो । पछिल्लो पटक विप्लव नेतृत्वको नेकपाको प्रभाव बलियो छ ।

थवाङमा कांग्रेस, एमाले, माओवादी, जनमोर्चा र राप्रपा राष्ट्रवादी छन् । थवाङमा कांग्रेसले बमबहादुर रोकालाई अध्यक्ष र श्रीकुमारी रोकालाई उपाध्यक्ष तथा एमालेले हितबहादुर रोकालाई अध्यक्ष र धनकुमारी बुढामगरलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएका छन् ।

यसैगरी माओवादी केन्द्रले उवाका बीरबहादुर घर्तीमगर ‘वियोग’लाई थवाङ गाउँपालिकाको अध्यक्ष र रामकिरणी रोकामगरलाई उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।

जनमोर्चाको तर्फबाट रेजमान बुढा र मनकुमारी घर्तीमगरको चर्चा छ । माओवादीबाहेक मोहनविक्रम सिंह नेतृत्वको जनमोर्चाको पकड कांग्रेस–एमालेभन्दा तुलनात्मक रुपमा राम्रो मानिन्छ ।

थवाङको चुनावी इतिहास पनि रोचक रहेको छ । त्यहाँबाट ०१५ सालको चुनावको सबै भोट खगुलाल गुरुङको पक्षमा खसेको थियो । ०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङका जनताले ०३८ सालमा भने रित्तो मतपेटिका फिर्ता गरिदिएका थिए ।

०४८ सालको आम निर्वाचनमा तत्कालीन जनमोर्चाका नेता कृष्णबहादुर महरालाई थवाङवासी जनताले जिताए । ०५१ मा ४ मत मात्र खसेको थवाङमा ०५४ सालमा चुनाव नै हुन नसकेपछि सदरमुकाम लिवाङबाटै अध्यक्ष र उपाध्यक्ष विजयी घोषणा गरिएको थियो ।

०५६ को निर्वाचनमा थवाङबाट २ मतमात्र खस्यो । त्यो मत हेलिकप्टरबाट चुनाव गराउन पुगेका कर्मचारीहरुको थियो । मतपेटिका रित्तो नफर्काउने भन्दै कर्मचारीहरुले भोट हालेर फर्किएका थिए ।

०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा थवाङका जनताले सबै मत माओवादी अध्यक्ष प्रचण्डलाई दिएका थिए । ०७० सालको दोस्रो संविधानसभा चुनाव भने थवाङबासीले बहिस्कार गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट