प्रधानमन्त्रीको निर्वाचन आज देउवा एक्ला उम्मेदवार

माओवादीले ८ मन्त्रालय पाउने, नेतृत्व महराकै

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, २३ जेठ । एमालेले संसद अवरोध नगर्ने भएपछि आज व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चयन गर्दैछ । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ । त्यसैले १४ वर्षपछि देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाउने लगभग निश्चित भएको छ ।

संसदको बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ । पहिलो बैठकलाई प्रमुख तीन दलका शीर्ष तीन नेताले सम्बोधन गर्ने कार्यसूची छ । त्यसपछि सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपतिको पत्र र प्रधानमन्त्री निर्वाचनको प्रक्रियाबारे जनकारी गराउनेछिन् ।

आजै बस्ने संसद्को दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ । संसद नियमावलीअनुसार प्रधानमन्त्रीका लागि एकजनाको मात्रै उम्मेदवारी परे पनि निर्विरोध घोषणा गर्न मिल्दैन । त्यसैले देउवाका प्रस्तावक, समर्थकले बोल्ने र देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

दउवालाई प्रधानमन्त्रीमा निर्वाचित हुन हाल संसद्मा कायम कुल सदस्य संख्या ५ सय ९३ को बहुमत अर्थात २ सय ९७ मत प्राप्त हुनुपर्छ । देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन जुट्ने सम्भावना छ । देउवा सभापति रहेको कांग्रेसका २ सय ६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् ।

यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गर्ने सम्भावना छ । तीन सांसद भएको नेकपा संयुक्त, एक–एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन् ।

शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने भएको छ । सुरुमा माओवादीले दुई मन्त्री पठाउने तयारी गरेको छ । स्रोतका अनुसार माओवादीले अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्मालाई गृहमन्त्री बनाउने भएको छ ।

माओवादीका तर्फबाट सरकारको नेतृत्व भने कृष्णबहादुर महराले गर्ने भएका छन् । महराले उपप्रधानमन्त्रीसहित एक मन्त्रालय सम्हाल्ने छन् । महराले सम्हाल्ने मन्त्रालयको टुंगो लागिसकेको छैन । तर, माओवादीले महरालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनाउनुपर्ने माग गरेको छ ।

उर्जामन्त्रीका रुपमा काम गर्दा लोडसेडिङ हटाउन भूमिका खेलेका कारण चर्चा कमाएका जनार्दन शर्मा पनि दोहो¥याएर मन्त्री बन्न पाउने सम्भावना रहेको छ । माओवादीभित्र गृहमन्त्रीका रुपमा अग्नि सापकोटा र शक्ति बस्नेत लगायतको चर्चा चले पनि धेरै नेताहरुको रोजाइमा जनार्दन परेका छन् ।

त्यसो त माओवादी नेता टोपबहादुर रायमाझीले पनि उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी पार्टीभित्र गरेका थिए । तर, उर्जामन्त्री हुँदा मुकेश चालीसेसँग मिलेर कुलमान घिसिङलाई जिम्मेवारीविहीन पारेको र लोडसेडिङ बढाएको आरोपका कारण टोपबहादुरको छवि माओवादीभित्र राम्रो छैन ।

रायमाझी सीमांकन हेरफेर र संविधान संशोधन प्रस्तावमा पार्टी नीतिको खुलेआम विरोध गर्दै केपी ओलीसँग नजिक बनेको आरोप पनि माओवादी पार्टीभित्र लाग्दै आएको छ । यही कारणले गर्दा टोपबहादुर महाराभन्दा पछि परेका छन् ।

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई पनि पूर्वअनुभवका आधारमा गृहमन्त्री बनाइनुपर्ने माओवादीभित्र केही नेता कार्यकर्ताले लबिङ गरेका छन् । तर, पहिलोचरणको स्थानीय चुनावमा बस्नेतको गृहजिल्ला जाजरकोटले राम्रो नतिजा ल्याउन नसकेको र जनार्दन शर्माले रुकुममा सबै सीट जितेका कारण बस्नेत पार्टीको छनोटमा पछि परेको बताइन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट