एमालेले संसद् अवरोध नगर्ने, भोलि देउवा प्रधानमन्त्री बन्ने लगभग निश्चित

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ । एमालले भोलि संसद् अवरोध नगर्ने भएको छ । यससँगै भोलि नै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ । प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको भन्दै एमालले व्यवस्थापिका संसद अवरुद्ध गर्दै आएको थियो । तर, उसले निःशर्त संसदको अवरोध फिर्ता लिएको हो ।

एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुन सहमत भएको छ । भोलिको बैठकमा एमाले पनि प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा सहभागी हुने तर देउवाको विपक्षमा मतदान गर्ने एमाले नेता भीम रावलले बताएका छन् ।

एमालेले प्रधानमन्त्रीलाई लागि वामदेव गौतमको उम्मेदवारी दिने चर्चा गरे पनि पछिल्लो समयमा उसले उम्मेदवारी दिएको छैन ।

संसदको अवरोध हटाउने विषयमा सोमबार अपरान्ह सभामुखको पहलमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । सो बैठकमा एमाले नेताहरु संसद सुचारु गर्न सहमत भएका हुन् ।

सभामुखको रोहबरमा बसेको सोमबारको बैठकमा कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता केपी ओली, सुवास नेम्वाङ, माओवादी नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलगायत उपस्थित थिए ।

तीन दलवीच भएको सहमति अनुसार मंगलबार संसद बैठक सुचारु हुनेछ । बैठक प्रारम्भ भएपछि तीन दलका शीर्ष नेताहरुले व्यवस्थापिका संसदलाई सम्वोधन गर्नेछन् ।

नेताहरुको सम्वोधनसँगै सभामुख ओनसरी घर्तीले पहिलो चरणको बैठकमा राष्ट्रपति कार्यालयको पत्र लगायतका विषयहरुबारे सदनलाई जानकारी गराउने छिन् ।

संसदलाई सभामुखले राष्ट्रपतिको पत्रबारे जानकारी गराउनुका साथै शीर्ष नेताहरुको सम्वोधनपछि अर्को चरणको बैठक बस्नेछ । र, प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

प्रधानमन्त्रीका लागि संसद सचिवालयमा शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेका कारण एक जनाका लागि मात्रै भोटिङ हुनेछ । एकजनाको मात्रै उम्मदेवारी परे पनि प्रधानमन्त्रीको चयनका लागि भोटिङमा जानैपर्ने संवैधानिक एवं कानूनी प्रावधान छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट