साउदी अरेबियासहित चार देशले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्य गरे

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ । आतंकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै चारवटा मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्य गरेको छ । साउदी अरेबिया, संयुक्त अरब इमरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् ।

द्वन्द्वग्रस्त अरब मुलुक यमनमा कतारले बिद्रोही सैन्य शक्तिलाई सहयोग गरेको, अलकायदा तथा मुस्लिम ब्रदरहुडजस्ता संगठनलाई प्रायोजन गरेको र कतारी सरकारद्वारा सञ्चालित अल जजिरा टिभी च्यानलमार्फत् अस्थिरता फैलाउन सहयोग गरेको यी देशले आरोप लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

साउदी अरेबियाले जारी गरेको बक्तब्यमा कतारले अरब क्षेत्रमा आतंकवादलाई प्रवद्र्धन गरेको तथा यो क्षेत्रको स्थायित्वमा समस्या सिर्जना गरेको अभियोग लगाएको छ । उसले कतारसँगको कुटनीतिक सम्बन्ध, जमिन, जल तथा हवाई सम्पर्क बिच्छेद गरेको घोषणा गरेको रोयटर्सले जनाएको छ ।

यसैगरी संयुक्त अरब इमरेट्सले पनि कतारले आतंकबादलाई प्रायोजन र संरक्षण गरेको अभियोग लगाउँदै कूटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गरेको छ । उसले कतारी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र मुलुक छाड्न आदेश दिएको छ ।

इजिप्टको परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै कतारसँगको हवाई तथा सामुद्रिक पारवहन स्थगित गरिएको बताएको छ ।

साउदीको निकट सहयोगी मानिएको बहराइनले पनि कतारी नागरिकलाई १४ दिनभित्र मुलुक छाडन तथा कूटनीतिक कर्मचारीलाई ४८ घण्टाभित्र फिर्ता हुन आदेश दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट