भरतपुरका दुईवटा वडाका अध्यक्षलाई सपथ नगराउन आदेश

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

चितवन, २१ जेठ । भरतपुर महानगरपालिका दुईवटा वडाका वडा अध्यक्षमा वडा निर्वाचित घोषित वडा अध्यक्षलाई सपथ नगराउन अदालतले आदेश दिएको छ । भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटौंडाले विपक्षीका नाममा आदेश दिएको छ ।

वडा नं ४ मा कांग्रेसका तर्फबाट उम्मेदवार रहनु भएका उपेन्द्रराज सापकोटा सात मतअन्तरले पराजित भएका थिए भने वडा नं ७ मा कांग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित भएका थिए ।

वडा नं ४ मा एमालेका उम्मेदवार हरिप्रसाद आचार्य र वडा नं ७ बाट सोही पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित भएका थिए । कम मतले पराजित भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा दायर गरेका थिए ।

ती दुवै मुद्दामाथि अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ६१ बमोजिम आज अन्तरकालीन आदेश जारी गरेको हो । आदेशमा विपक्षीबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट