एमालेले आज पनि संसद् अवरोध गर्ने

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २१ जेठ । आज हुने प्रधानमन्त्री निर्वाचन प्रभावित हुने भएको छ । संसद बैठक विहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

तर, चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट बनेको प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको अवरोध कायमै राख्ने भएको छ ।

भरतपुर महानगरमा मतगणना सुचारु गर्न माग गर्दै एमालेले लगातार संसद अवरुद्ध पार्दै आएको थियो । आफ्नोविपरीत निर्णय आएपछि एमालेले आयोगको निष्पक्षतामा आशंका उत्पन्न भएको भन्दै अवरोध कायमै रहने बताएको हो ।

एमालेले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ । भरतपुर प्रकरण अदालतबाट निरुपण नभएसम्म संसद अवरोध कायमै रहने देखिएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षका मान्छेले मतपत्र च्यातेको र आयोगको निर्णय सत्तापक्षकै दबावमा आएको देखिएकाले एमाले अदालत र जनतामा जान बाध्य भएको बताए ।

उनले भने, ‘वास्तवमा निर्वाचन गर्ने र गर्न सक्ने वातावरण सरकारले बनाइरहेको छ कि भत्काइरहेको छ ? निर्वाचन आयोगले यस्तो निर्णय गरेर स्वयं आयोग आशंकामा परेको छ, उसले जनतामा विश्वास दिन सकेन । त्यसैले एमालेले यो विषयलाई लिएर अदालत र जनतामा जाने निर्णय गरेको छ ।’

जनताको आवाज र अभिमतमाथि सत्तापक्षबाट आक्रमण भएको भन्दै उनले संसदमा अरु प्रक्रिय अघि बढ्न नदिने बताए ।

एमालेले प्रधानमन्त्री निर्वाचनबारे संसद र आफूलाई जानकारी नभएको समेत बताएको छ । संसद बैठकमा राष्ट्रपतिले पठाएको पत्र पढेर नसुनाइएको र बाहिरै सूचना टाँसेर प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भएकाले एमालेलाई त्यसबारे जानकारी नभएको नेम्वाङले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट