माथिल्लो तामाकोसी आयोजनाको ८८ प्रतिशत काम सम्पन्न

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौं, २० जेठ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ८८ प्रतिशत काम सकिएको छ । उक्त आयोजनामा खन्नु पर्ने ८.२ किलोमिटरको मूख्य सुरुङमा अब ८ सय मिटर मात्रै खन्न बाँकी छ । दोलामा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको आयोजना हो ।

आयोजनामा आवश्यक पर्ने अधिकांश हेभी इक्वीपमेन्टहरु आयोजनास्थल पु¥याइसकिएको छ । अहिले ३७ टनको हेभी जेनेरेटर जडानको काम भइरहेको छ । अहिले आयोजनास्थलमा टर्वाइन र प्रशारणलाइन निर्माणको काम पनि भइरहेको छ ।

आयोजनाले आगामी आर्थिक वर्षको असार मसान्तसम्ममा सिभिलको काम सकेर बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । बिद्युत उत्पादन सुरु भएपछि पनि निर्माण सम्पन्न हुन करिब ६ महिना जति लाग्ने आयोजनाले बताएको छ ।

भूकम्प र नाकाबन्दीका कारण यस आयोजनाको निर्माण २ वर्ष प्रभावित भएको थियो । त्यसैगरी नाकाबन्दीका कारण यस आयोजनाका लागि निर्माण सामग्री भित्र्याउन अवरोध पुगेको थियो ।

आयोजना र नेपाल विद्युत प्राधिकरणबीच भएको सम्झौताबमोजिम खिम्तीमा निर्माण हुने सवस्टेसनको लागि प्राधिकरणले जग्गा अधिग्रहण गरिदिनुपर्दछ । तर, सबस्टेशन निर्माणस्थलका स्थानियबासीले मुआब्जा रकम बुझ्न मानेका छैनन् । प्राधिकरणले उपलब्ध गराउन लागेको रकममा स्थानियबासीले चित्त बुझाएका छैनन् ।

माथिल्लो तामाकोसी नेपालले आफ्नै लगानीमा बनाइरहेको राष्ट्रिय गौरवको आयोजना हो । यसको लागत ३५ अर्ब ३० करोड रहेको छ । यसमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थानका साथै नेपाल सरकारल पनि लगानी गरिरहेको छ ।

कर्मचारी सञ्चयकोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब र नागरिक लगानी कोषले २ अर्ब र राष्ट्रिय बिमा सस्थानले २ अर्ब लगानी गरेका छन् । मन्त्रिपरिषद्ले ०६६ सालको चैतमा यस आयोजनाका लागि ११ अर्ब ८ करोडसम्म लगानी गर्ने निर्णय गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट