रोल्पामा प्रमुख दलले उम्मेदवार तोके

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

रोल्पा, १९ जेठ । कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा रोल्पामा पार्टीका तर्फबाट उम्मेदवार हुनेको नाम टुंगो लगाएको छ । आकांक्षी धेरै भएपछि उम्मेदवारको टुंगो लगाउन नसकेको कांग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामावली एकमुष्ट टुंगो लगाएको हो ।

पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने भएकी छन् ।

सुवर्णावती गाउँपालिकाको अध्यक्षमा शेरबहादुर महरा र उपाध्यक्षमा कविता उपाध्याय रहेका छन् । लुंग्री गाउँपालिकाको अध्यक्षमा दुर्गाबहादुर खड्का र उपाध्यक्षमा भीमकली बुढाथोकीले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी, माडी गाउँपालिकाको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गोठी खत्रीलाई उठाउने तयारी भएको छ । सुनछहरी गाउँपालिकामा दुर्गे बुढालाई अध्यक्ष र सरु पुनलाई उपाध्यक्ष, दुईखोली गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्तीमगर र उपाध्यक्षमा लक्ष्मी डाँगी, सकिदह गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसीले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कमल बुढा र उपाध्यक्षमा राधिका हमालको उम्मेदवारी पर्ने भएको छ । हमाल चर्चित लोकदोहोरी गायिकासमेत हुन् । रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बस्नेत, उपाध्यक्षमा सरिता केसी र थवाङ गाउँपालिकाको अध्यक्षमा बमबहादुर रोका र उपाध्यक्षमा श्रीकुमारी रोकाले उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसले रोल्पा नगरपालिकाका सबै वडाका अध्यक्ष र चारैजना सदस्यको समेत टुंगो लगाएको छ । जसअनुसार वडा नं १ को अध्यक्षमा हिराबहादुर पुन, २ मा देउचन थापा, ३ मा राजकुमार पुरी, ४ मा हिरा घले, ५ मा हेमराज डाँगी, ६ मा नरबहादुर खत्री, ७ मा रती कामी, ८ मा खटकबहादुर खत्री ‘तोरावोरा’, ९ मा ओभिराज पुन र १० मा मानबहादुर खत्रीले उम्मेदवारी दिने कांग्रेस रोल्पाले जनाएको छ ।

जिल्लामा एमालेले यसअघि नै सम्पूर्ण स्थानको उम्मेदवारी घोषणा गरिसकेको छ भने माओवादी केन्द्रले सुवर्णावती गाउँपालिकामा आकांक्षी धेरै देखिएपछि उम्मेदवारी टुंग्याउन सकेको थिएन । सो पार्टीले समेत मतदान गरी उम्मेदवार टुंगो लगाइसकेको बताइएको छ ।

जिल्लामा मुख्य तीन राजनीतिक दलका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, माले, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, संघीय समाजवादी फोरमलगायत दलले चुनाव चिह्न लिई दलको हैसियतबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् भने नयाँ शक्ति नेपाल, देशभक्त संघीय जनगणतान्त्रिक मोर्चा, पूर्वराष्ट्रसेवक पार्टीलगायतले स्वतन्त्र हैसियतबाट उमेदवारी दिने भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट