चैतदेखि शिक्षक गायव, पालेको भरमा पूरै विद्यालय

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

बाजुरा, १९ जेठ । बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथको ढाडाकोटस्थित बूढीनन्दा प्रावि दुई महिनादेखि सुनसान बन्दै गएको छ । चैत दोस्रो साता नै हतारहतारमा परीक्षा सकेर सबै शिक्षक हिँडेका थिए । तर, अहिलेसम्म कसैको अत्तोपत्तो छैन । विद्यालयमा विद्यार्थी र विद्यालयका पालेबाहेक अरू कोही देखिँदैनन् ।

सरकारी तलबभत्ता खाने तीन र निजी स्रोतका दुई गरी पाँच शिक्षक कार्यरत यो विद्यालयमा वैशाखभर एउटै शिक्षक पनि विद्यालय फर्केनन् । दामोदर रेग्मी प्रअ रहेको यो विद्यायमा शंकर जोशी र अम्मकला बोहरा दरबन्दीका शिक्षक हुन् । नैनचन्द्र रोकाया र जयप्रकाश रोकायालाई विद्यालयले निजी स्रोतमा नियुक्ति दिएको छ ।

सदरमुकाम मार्तडीदेखि करिब एक दिनको पैदल दूरीमा रहेको ढाडाकोटस्थित उक्त विद्यालयका शिक्षकले चैत पहिलो सातामै वार्षिक परीक्षा सञ्चालन गरेका थिए । परीक्षा सकिएपछि चैत १२ मा प्रधानाध्यापकसहित सबै शिक्षक परीक्षाफलसमेत प्रकाशित नगरी घर हिँडेको स्थानीयवासीले बताएका छन् । कुनै पनि शिक्षक विद्यालयमा नफर्केपछि विद्यालयका पाले धर्मबहादुर बोहराले परीक्षाफल प्रकाशित गरेका थिए ।

विद्यालयले वैशाख पहिलो सातादेखि भर्ना अभियान सुरु गर्नुपर्ने हो । विद्यार्थीका हातहातमा नयाँ किताबसमेत पु¥याउनुपर्ने हो तर यहाँ अध्ययनरत बालबालिकालाई नयाँ कक्षामा नाम लेखाउने र हातमा नयाँ किताब लिएर फर्किने अवसर पाएका छैनन् । ‘सरहरू नफर्केपछि विद्यार्थीको नाम मैले नै रजिस्टरमा टिपेको छु’, विद्यालयका पाले धर्मले भने ।

शिक्षकको अत्तोपत्तो नभएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले प्रअ रेग्मीलाई बारम्बार फोन गरी कुरा गर्ने प्रयास गरेको बताए । छ तर प्रअ रेग्मी सम्पर्कमा आएनन् । अन्य शिक्षकसँग समेत सम्पर्क हुन नसकेको अध्यक्ष बोहराले बताए ।

शिक्षा कार्यालयलाई समेत उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी नभएको होइन । स्थानीय तहमा विद्यालयको अनुगमन रेखदेख गर्ने काम स्रोतव्यक्तिको हो । त्यस क्षेत्रका स्रोतव्यक्ति प्रेमराज रेग्मीलाई उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी छ । उनले प्रअले नै नमानेकोले यस्तो भएको बताए । तर, बूढीनन्दा अध्यक्ष बोहराले दुई घन्टा टाढा घरमा बस्ने स्रोतव्यक्ति रेग्मीलाई एकपटक जबर्जस्ती बोलाउँदा पनि विद्यालयको पर्यवेक्षण तथा अनुगमनका लागि कहिल्यै नआएको बताए ।

प्रअ रेग्मीले लापरबाही गरेको यो पहिलोपटक होइन । विगत १३ वर्षदेखि सोही विद्यालयमा कार्यरत उनको विगतदेखि नै यस्तै चाला रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा बताउँछन् ।

विद्यालयको सेवा क्षेत्रका अभिभावक अप्ठ्यारोमा छन् । ढाडाकोट गाउँ सो विद्यालयको सेवा क्षेत्र हो । अर्को विद्यालय गाउँदेखि करिब डेढ घन्टा टाढा पर्छ । कक्षा ५ सम्म सञ्चालन हुने यो विद्यालयमा ११० विद्यार्थी अध्ययनरत रहेका छन् । अवस्था थाहा पाएपछि प्रअलाई तत्काल विद्यालय जान निर्देशन गरेको विद्यालय निरीक्षक उमेश रेग्मीले बताए ।

ढाडाकोटको बूढीनन्दा मात्रै होइन, जिल्लाका थुप्रै विद्यालयको अवस्था अस्तव्यस्त रहेको विद्यालय निरीक्षक धर्मराज जोशी स्वीकार्नुछन् । कतिपय विद्यालयमा एउटै किताब पनि पुगेको छैन । कतिपयमा अपुरा किताब छन् । जिल्लाबाहिरका शिक्षक धेरैजसो फर्केका छैनन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट