धरानको विकास र समृद्धि एमालेको मुख्य लक्ष्य हो : सावित्री श्रेष्ठ (जोशी)

प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार

सावित्रि श्रेष्ठ (जोशी) धरानवासीका लागि कुनै नौलो नाम होइन । ०२७ सालदेखि नै राजनीतिक रुपमा क्रियाशिल श्रेष्ठ हाल एमाले प्रदेश नं. १ सल्लाहकार परिषद सदस्य र अनेमसंघ अञ्चल कमिटी सदस्य हुन् । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा एमालेबाट समानुपातिकतर्फको उम्मेदवार रहेकी श्रेष्ठ वियोन्ड बेइजिङका केन्द्रीय सदस्यसमेत हुन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा धरान उपमहानगरपालिकाको उपमेयरको लागि उम्मेदवारको रुपमा सिफारिस भएकी श्रेष्ठसँग रिपोर्टर नेपालका लागि भोला श्रेष्ठले गरेको कुराकानी संक्षेपमा ।

चुनावी चहलपहल कस्तो हुँदैछ ?
हाम्रो पार्टी चुनावी चहलपहल तीब्र रुपमा अघि बढिरहेको छ । धरानका १ नम्वर वडादेखि २० नम्बरसम्म हाम्रो पार्टीको टोल कमिटी बनाउनेदेखि लिएर घरदैलो कार्यक्रमसमेत तीब्र रुपमा अघि बढिरहेको छ । सबै कार्यकर्ताहरु एमालेलाई सर्वाधिक लोकप्रिय मतले कसरी जिताउन सकिन्छ भन्नेमा चिन्तित हुनुहुन्छ । हाम्रो पार्टीले यो चुनावलाई उत्सवका रुपमा लिएको छ ।

चुनावी एजेन्डाहरु के–के छन् ?
एमालेका चुनावी एजेण्डाहरु व्यवहारिक र वैज्ञानिक छन् जुन काम गर्न सकिन्छ त्यो मात्र भनेको छ । हामी सस्तो लोकप्रियता र जनतालाई झुक्याउने कुरा गदैनौँ । धरानको शिक्षा, स्वास्थ्य, पर्यटन र दिगो विकास नै एमालेको प्रमुख एजेण्डा हो । मैले शब्दशब्दमा भन्दा लामो र बोझिलो हुन सक्छ । धरानवासीको हितको पक्षमा एमालेको एजेण्डा छन् । हाम्रो पार्टी एमालेले समृद्ध धरानलाई समेटिएको प्रतिवद्धतापत्रसमेत सार्वजनिक गरिसकेको छ । यसबाट पनि हाम्रो एजेण्डा धरानवासी माझ पुगिसकेको छ । हाम्रो पार्टीले महिला, दलित, सुकुम्बासी, उद्योगी, व्यवसायी, युवा, खेलाडीलगायत समग्र धरानवासीको हित हुने गरी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । यो ज्यादै व्यवहारिक र वैज्ञानिक पनि छ । नेकपा एमाले धरानको विकास र समृद्धिको पक्षमा छ ।

एमालेले धरानमा चुनाव जित्ने आधार के हो ?
धरानमा एमालेले चुनाव जित्ने आधार धेरै छन् । त्यसमा पहिलो आधार भनेको पार्टीको बलियो संगठन नै हो । एमालेको भन्दा बलियो संगठन धरानमा कुनै पनि पार्टीको छैन । दोस्रो भनेको एमालेको लोकप्रिय काम नै हो । हरेक विकास निर्माणमा एमालेको सक्रिय सहभागिता रहेको छ । विकास निर्माणमा नेतृत्व गर्ने हाम्रा कार्यकर्ताहरु आफ्नो वडा र टोलमा लोकप्रिय हुनुहुन्छ । विकासको नेतृत्वको संवाहक नै एमाले हो । संसद विकास कोषमार्फत गरिएको विकास निर्माणले पनि एमालेले विकास गर्छ भन्ने सन्देश दिएको छ । हाम्रो पार्टी जनताका बीचमा छ । कसैले एमाले पार्टीलाई परिचित गराइरहनु पदैन ।

पार्टीले उम्मेदवार बनाएको खण्डमा तपाईंले जित्ने आधार के हो ?
मैले जित्ने भन्दा पनि मेरो पार्टी एमालेले जित्ने हो । त्यसमा मेरो व्यक्तिगत भूमिकाले पनि केही प्रभाव पार्न सक्छ होला त्यो फरक कुरा हो । पार्टी प्रमुख कुरा हो । पार्टीले उठाएको उम्मेदवारले जित्ने हो पार्टीले जित्ने हो । यहाँ व्यक्तिगत कुरा हुँदैन ।

एमालेले धरानमा चुनाव जितेर केही गरेन भन्ने आरोप सुनिन्छ नि ?
त्यो कुरा त नितान्त विपक्षीको आँखाबाट हेर्ने कुरा मात्र हो । आजको धरान बनाएकै एमालेले हो भन्दा फरक पदैन । आज विकास निर्माणको हिसावले पूर्वकै नमुना शहरको रुपमा विकास भएकै एमालेको कामले गर्दा हो । नगर बनाउने भिजन नै एमालेसँग छ । समृद्ध शहरको योजना नै एमालेको हो । कसरी काम गरेको छैन भन्नु । त्यो त टुँडीखेलमा रहेको हात्ती मैले देखिनँ भनेर आँखा देख्नेले भने जस्तै हो । धरान बनाउने नै एमाले मात्रै हो अरुको योजना छैन भए पनि सस्ता र जनता झुक्याउने मात्र छन् ।

चुनावी तालमेलको कुरा के छ नि ?
हाम्रो चुनावी तालमेल हुँदैन किनभने धरानमा एमाले एक्लै विजय गर्न सक्षम छ । किन अरुको साहारा लिने ? धरानवासीहरु एमालेलाई जिताउन हतार गरिरहेका छन् । जनताको जनलहर चलिरहेको छ जनताको एमालेप्रतिको यही विश्वास नै अत्यधिक मतका साथ चुनाव जित्न काफी छ । तालमेलको कुनै संभावना नै छैन, हामी गर्दैनौँ पनि । हाम्रो पार्टीका कार्यकताहरु दिन–राता खटिरहनुभएको छ । तालमेल गरेर कार्यकर्ताहरुको मनोबल कमजोर बनाउने पक्षमा हामी छैनौँ । हामी एक्लै चुनाव लडेर लोकप्रिय मतका साथ विजयको लक्ष्यमा छौँ ।

अझै उम्मेदवार चयन गर्न किन नसकेको हो त ?
कुनै पनि कुराको विधि प्रक्रिया हुन्छ । त्यसमा पनि हाम्रो जस्तो ठूलो पार्टीको नहुने कुरै भएन । पार्टीले चुनाव जित्न सक्ने योग्य, दक्ष, सवल, सक्षम र लोकप्रियतालगायत मापदण्ड बनाएर बहस छलफल गरिरहेको होला । त्यो एउटा विधि हो त्यही विधिमा पार्टी लागिरहेको छ । यो विषय पार्टीले निर्णय गर्ने कुरा हो र यो गम्भीर विषय पनि हो । यसमा पार्टी लागिरहेको छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?
योग्य, दक्ष, अनुभवी र लोकप्रिय व्यक्तिलाई मतदान गरी विजयी गराउन धनावासीलाई आग्रह गर्दछु । धरानलाई समृद्ध शहर निर्माणको लागि एमालेको समूहलाई विजयी गराउन धरानवासीमा अपील गर्दछु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट