इलाममा कांग्रेसले उम्मेदवारको टुंगो लगायो

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

इलाम, १७ जेठ । कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि इलाममा आफ्ना उम्मेदवार चयन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा कांग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको टुंगो लगाएको हो ।

कांग्रेस जिल्ला सचिव निरोज खड्गीका अनुसार १० वटै स्थानीय तहका उम्मेदवारको टुंगो लगाएर सिफारिसका लागि केन्द्रमा पठाइएको छ । ‘जिल्लादेखि पठाएको नाम केन्द्रले अनुमोदन गरेर पठाउँछ’, खड्गीले भने ।

कांग्रेसले इलाम नगरपालिका प्रमुखमा हिमालय कर्माचार्य र उपप्रमुखमा चन्दा कार्कीलाई उम्मेदवार बनाएको छ । माई नगरपालिका प्रमुखमा विष्णु कार्की र उपप्रमुखमा चन्द्रमाया सुब्बा, सूर्याेदय नगरपालिका प्रमुखमा दुर्गा बराल र उपप्रमुखमा बन्दना पौडेल (अधिकारी), देउमाई नगरपालिका प्रमुखमा होम दुलाल र उपप्रमुखमा सूर्यकला राईलाई उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी, चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ र उपाध्यक्षमा लक्ष्मी मिश्र, माङसेबुङ गाउँपालिका अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुनु माखिम, रोङ गाउँपालिका अध्यक्षमा शमशेर राई र उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकी), फाकफोकथुम गाउँपालिका अध्यक्षमा रामकुमार श्रेष्ठ र उपाध्यक्षमा डालाकुमारी विष्टलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसले यसअघि नै सन्दकपुर र माईजोगमाई गाउँपालिकामा उम्मेदवार चयन गरिसकेको छ । कांग्रेसले ८१ वटा वडामा वडाध्यक्ष र अन्य सदस्यहरूको उम्मेदवारीसमेत घोषणा गरिसकेको सचिव खड्गीले बताए ।

यसैबीच, पहिलो चरणको निर्वाचनमा धेरै मतपत्र बदर भएपछि दोस्रो चरणको निर्वाचनमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालय इलामले गाउँ–गाउँमा मतदाता शिक्षा सुरु गरेको छ ।

एक महिनापछि धकेलिएको स्थानीय निर्वाचन सम्पन्न गर्न कार्यालयले स्थागित गरिएको मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको हो । दुई चरणमा चुनाव तोकिनासाथ कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई स्थगित गरेको थियो ।

जिल्लाका २ सय ४४ मतदान स्थानमा नै मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । सबै मतदान केन्द्रमा एक÷एकजनाका दरले २ सय ४४ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट