जालपाको ज्योति माविमा आगलागी, करिब एक करोड बराबरको क्षति

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । रुपाकोट मजुवागढी नगरपालिकाको वडा नं. १२ जालपामा रहेको ज्योति माविमा हिजो राती आगलागी भएको छ । आगलानीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

ज्योति माविमा आगलागी भएपछि मंगलबार जिल्ला सदरमुकाम दिक्तेलबाट शिल्ला शिक्षा अधिकारी ज्ञामणि नेपाल र जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको टोली जालपा आएका छन् ।

सोमबार राती करिब ११ः३० बजेतिर पेट्रोल छर्केर आगलागी गरिएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताए । उनले दिएको जानकारीअनुसार आगलागी भएको १५ मिनेटमै विद्यालयको दुईवटा भवन ध्वस्त भएका छन् ।

आगलागीले विद्यालयको कार्यालय रहेको भवनसहित दुईवटा भवनमा रहेको चारवटा कोठा जलेर पूर्ण रुपमा नष्ट भएका छन् । कार्यालयको सम्पूर्ण कागजात जलेको प्रधानाध्यापक टीका श्रेष्ठले बताए । आगलागीबाट ७ हजार ५२ वटा दर्ता भएका र पछि थपिएको तर पुस्तकालयमा दर्ता हुन बाँकी २ लाख रुपैयाँ बराबरका किताबहरु जलेर नष्ट भएका छन् । विद्यालयमा रहेका खेलकुद, संगीत सामग्रीहरु आगलागीबाट पूर्ण रुपमा नष्ट भएका छन् ।

प्रत्यक्षदर्शीहरुले विद्यालयमा आगो लगाएर ३ जना भागेको आफूहरुले देखेको बताएका छन् । स्थानीय प्रहरी कार्यालयका प्रमुखले आगलागी गर्ने व्यक्तिको खोजी भइरहेको जनाएका छन् ।

जालपावासी खासगरी पुनारो गाउँले सर्वसाधारणको अथक प्रयासपछि स्थापना भएको ज्योति प्रावि विस्तारै कक्षा थप गर्दै मावि बनेको हो । साविकको जालपा गाविस वडा नं. ४ पुरानो गाउँमा अवस्थित ज्योति मावि नमुना विद्यालय मानिन्छ । सरकारी विद्यालय भए पनि यो विद्यालयमा काठमाडौंका बोर्डिङ स्कुलहरुमा अध्यापन गराइने पाठ्यपुस्तकहरु अध्यापन गराइन्छ ।

ज्योतिका विद्यार्थीहरुले अंग्रेजी माध्यमबाट विगतमा एसएलसी र हालका वर्षहरुमा एसइई परीक्षा दिँदै आएका थिए । एसएलसी र एसइई सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउँदै आएको छ । सस्तो शुल्क गुणस्तरीय शिक्षा प्रदान गर्ने ज्योति माविको शैक्षिक स्थिति र व्यवस्थापनबारे बुझ्न नेपालका धेरै विद्यालयका शिक्षक, अभिभाव र विद्यार्थीहरु भ्रमणमा आउने गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट