उदयपुरमा ठूला तीन दलबाट को–को उठ्दैछन् ?

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

उदयपुर, १६ जेठ । दोस्रो चरणमा हुने स्थानीय तहमा निर्वाचनका लागि उदयपुरमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्ना उम्मेदवार चयन गरेका छन् ।

एमालेले सोमबार जिल्लाका ८ वटा स्थानीय तहका लागि आफ्नो पार्टीको तर्फबाट उमेदवारको नाम सार्वजनिक गरेको छ ।

कांग्रेसले त्रियुगा नगरपालिकाको मेयरमा वसन्तकुमार बस्नेत र उपमेयरमा देवीकुमारी चौधरी, चौदण्डी नगरपालिकाको मेयरमा खगेन्द्र राई, बेलका नगरपालिकाको मेयरमा अशोक कार्की र उपमेयरमा दीपा राई, कटारी नगरपालिकाको मेयरमा ज्ञानेन्द्र मानसिंह राउत र उपमेयरमा सरस्वती ढुंगानालाई उठाउने भएको छ ।

यस्तै, सुनकोसी गाउँपालिकाको अध्यक्षमा पुष्पलाल राई, उपाध्यक्षमा रमिला राई, ताप्ली गाउँपालिकाको अध्यक्षमा डिकबहादुर ठकुरी र उपाध्यक्षमा धनमाया मगर, रौतामाई गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र थापा र उपप्रमुखमा धनमाया थापामगर, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर खड्का र उपाध्यक्षमा बिमा राईलाई उमेदवार चयन गरेको कुरा काँग्रेस उदयपुर प्रचार विभाग प्रमुख मदनराज कटुवालले बताए ।

त्यसैगरी, एमालेले त्रियुगा नगरपालिकाको मेयरमा बलदेव चौधरी र उपमेयरमा सृजना दनुवारलाई उठाउने भएको छ । कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ मेयरमा र उपमेयरमा भीमकुमारी राउत, बेलका नगरपालिकाको मेयरमा दुर्गाकुमार थापा र उपमेयरमा राजकुमारी चौधरी तथा चौदण्डी नगरपालिकामा मेयरमा नरेन्द्रबहादुर राउत र उपमेयरमा कान्ता राई रहेको एमाले प्रचार विभाग उदयपुरका प्रमुख परमेश्वर घिमिरेले बताए ।

यस्तै, उदयपुरगढी गाउँपालिकाबाट एमालेले अध्यक्षमा मानबहादुर मगर र उपाध्यक्षमा सानु राउत, ताप्ली गाउँपालिकाको अध्यक्षमा उद्धवसिंह थापा र उपाध्यक्षमा कमला राई, रौतामाई गाउँपालिकाको अध्यक्षमा गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारीज्यू ठकुरी, सुनकोसी गाउँपालिकाको अध्यक्षमा भलबहादुर राई र उपाध्यक्षमा लक्ष्मी कार्की रहेको एमाले उदयपुरले बताएको छ ।

त्यसैगरी, माओवादी केन्द्रले पनि जिल्लाका पाँच स्थानीय तहमा उमेदवार निर्धारण गरेको छ । कटारी नगरपालिकाको मेयरमा केपी बराल र उपमेयरमा मीना कोइराला, बेलका नगरपालिकाको मेयरमा रमण भट्टराई र उपमेयरमा गङ्गासरी राई, सुनकोसी गाउँपालिकाको अध्यक्षमा मेजर राई र उपाध्यक्षमा सुना राई, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा देव गिरी र उपाध्यक्षमा निर्मला मगर र ताप्ली गाउँपालिकाको अध्यक्षमा ढुंगराज विकलाई अध्यक्षमा नाम सिफारिस गरेको माओवादी केन्द्र उदयपुरका पार्टी अध्यक्ष विनोद कटुवालले जानकारी दिए ।

बाँकी तीन तहको लागि दुई दिनभित्र उम्मेदवार टुंगो लगाइने माओवादी केन्द्र उदयपुरले बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट