दोस्रो चरणमा एमालेले तालमेल नगर्ने

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले दोस्रो चरणमा तालमेल नगर्ने निर्णय गरेको छ । एमालेले केन्द्रीय स्तरबाट तालमेल नगर्ने निर्णय गरे पनि स्थानीय तहमा हुन सक्ने तालमेलका लागि भने खुला रहेको जनाएको छ ।

‘पहिलो चरणमा गठबन्धन प्रभावकारी हुन सकेन । दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो । आमरुपमा एक्लै लड्छौँ’ एमाले नेता प्रदीप ज्ञवालीले भने । उनका अनुसार कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो ।

उनले स्थानीय आवश्यकताको आधारमा चुनावी गठबन्धन नकार्न नसकिने बताए । पहिलो चरणका चुनावमा लमजुङ र बाग्लुङमा मात्रै गठबन्धन प्रभावकारी देखिएको उनको विश्लेषण छ । लमजुङमा माओवादी र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग एमालेको गठबन्धन थियो ।

यसअघि एमालेले केन्द्रीय स्तरबाटै काठमाडौं र ललितपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको थियो । ज्ञवालीले दोस्रो चरणमा उनले मधेसवादी दलसँग सम्बन्ध समान्य बनाउने र गठबन्धनका लागि समेत स्थानीय स्तरमै छलफल भइरहेको बताए ।

एमाले दोस्रो चरणको स्थानीय चुनावमा पहिलो दल बन्ने रणनीतिका साथ चुनावमा उत्रिने बताएको छ । प्रदेश नम्बर एक र पाँचमा राम्रो परिणाम आउने अपेक्षा लिएको एमालेले सात नम्बर प्रदेशमा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने र प्रदेश नम्बर दुई मा त्रिपक्षीय प्रतिस्पर्धाको अपेक्षा लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट