भोजपुरमा एमाले उम्मेदवार टुंगो लाग्यो

एमालेले तालमेल नगर्ने, कांग्रेस माओवादी र फोरमको प्रयास जारी

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

भोजपुर, १६ जेठ । एमालेले भोजपुरको ९ वटै स्थानीय तहका उम्मेदवार तय गरेको छ । जिल्लामा कांग्रेस, माओवादी र संघीय समाजवादीले भने चुनावी तालमेल गर्ने भएका छन् ।

भोजपुरमा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने भएको छ । हालसम्म टेम्के मैयुङ गाउँपालिका र सिल्पा सिलिछो गाउँपालिकामा तीन दलबीच तालमेल भइसकेको छ भने अन्य स्थानीय तहमा पनि तालमेलका लागि छलफल भइरहेको छ ।

टेम्के मैयुङ गाउँपालिकामा संघीय समाजवादीका अध्यक्ष उम्मेदार रामसिंह राईलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् । जिल्लाभरि एमालेविरुद्ध तालमेल गरेर जानेबारे छलफल भइरहेको संघीय समाजवादीले जनाएको छ ।

भोजपुरमा २ नगरपालिका र ७ गाउँपालिका रहेको छ । एमालेले केही उम्मेदवारहरु जिल्लाबाटै टुंगो लगाएको छ भने बाँकीको टुंगो १ नम्बर प्रदेश कमिटीले लगाएको छ ।

एमालेले भोजपुर नगरपालिकाको मेयरमा गणेश श्रेष्ठ र उपमेयरमा ममिता राईलाई खडा गरेको छ । जिल्ला सदरमुकाम रहेको भोजपुर नगरपालिकालाई सबै पार्टीले प्रतिष्ठाको विषय बनाएका छन् ।

त्यस्तै जिल्लाको अर्को षडानन्द नगरपालिकामा एमालेले मेयरमा सुरेन्द्र उदास र उपमेयरमा मेरिका राईलाई खडा गरेको छ ।

एमालेका जिल्ला अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् भने उपाध्यक्ष सुरेन्द्र उदास षडानन्द नगरपालिकाको मेयर उम्मेदवार बनेका छन् ।

त्यसैगरी, एमालेले साल्पा सिलिछो गाउँपालिका अध्यक्ष खगेन्द्र राईलाई उठाउने भएको छ भने उपाध्यक्ष बाँकी राखेको छ । अरुण गाउँपालिकामा अध्यक्ष नारायण घिमिरे र उपाध्यक्ष कविता राई उम्मेदवार बन्ने छन् । ट्याम्के मैयुम गाउँपालिकामा अध्यक्ष धु्रव राई, उपाध्यक्ष इन्द्रावती राई, रामप्रसाद राई गाउँपालिकामा अध्यक्ष बिजय राई र उपाध्यक्ष कृतिका राई एमालेका उम्मेदवार बन्ने छन् ।

त्यसैगरी, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष चन्द्रमा राई, आमचोक गाउँपालिकामा अध्यक्ष बहादुर राई र उपाध्यक्ष दिव्यकला राई उठ्ने छन् । पौवादुंगा गाउँपालिकामा अध्यक्ष किरण राई र उपाध्यक्ष ज्योत्सना राई एमालेका उम्मेदवार बन्ने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट