गणतन्त्र दिवस : के भने प्रधानमन्त्रीले सैनिक मञ्चबाट

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अभूतपूर्ण जनसहभागितासहित सम्पन्न भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गत ३१ वैशाखमा सम्पन्न निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कोसेढुंगाका रुपमा रहेको बताए ।

नेपाली जनताको दशकौँ लामो संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको उल्लेख गर्दै उनले गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आए स्मरण गरे ।

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते, अपांगता भएका योद्धामा उच्च सम्मान व्यक्त गरे । उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेसी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार पनि प्रकट गरे ।

स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदातामा हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीले निर्वाचित जनप्रतिनिधिमा नेपाल सरकार र आफ्नो तर्फबाट बधाई दिँदै सफल कार्यकालका लागि शुभकामनासमेत दिए ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘स्थानीय तह, प्रदेश तथा सङ्घीय व्यवस्थापिकाको निर्वाचनपश्चात् संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारशीला निर्माण भई संविधानले प्रत्याभूत गरेका उपलब्धिहरु संस्थागत हुने मेरो विश्वास छ ।’

राजनीतिक अधिकार प्राप्तिपछि दिगो विकासको लक्ष्य हासिल गर्न सबै वर्ग, क्षेत्र, लिंग र जातजातिको समावेशी विकास प्रमुख लक्ष्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सुशासन, आधुनिक बस्ती विकास, नैतिक, भौतिक र प्राविधिक शिक्षामा जोड, जनउत्तरदायी नेतृत्व र शासन प्रणाली हाम्रो प्राथमिकतामा रहेको बताए ।

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि आजको दिनसम्म आइपुग्दा स्थानीय तहको व्यवस्थासहित पहिलो चरणको निर्वाचन सम्पन्न भएको, राजनीतिक दलहरुबीचको तिक्ततापूर्ण सम्बन्ध राजनीतिक सहमति र सहकार्यमा बदलिएको भूकम्पपछिको पुनःनिर्माणको क्षेत्रमा पीडितलाई प्रदान गरिएको अनुदानमा वृद्धि गरिएको, निजी आवास निर्माणको कामले पनि गति लिएको स्पष्ट पारे ।

मुलुकको राष्ट्रिय अर्थतन्त्र प्रगतिको दिशामा रहेको, ७.५ प्रतिशत आर्थिक वृद्धि भएको, मूल्य वृद्धि नियन्त्रण भएको, विकास आयोजनाहरुमा प्रगति हासिल भएको, विद्युत्भार कटौतीको अन्त्य गरिएको र उज्यालो युगको प्रारम्भ, सन्तुलित विदेश नीति र छिमेकीहरुसँगको सम्बन्धमा आएको न्यानोपन, विदेशमा बस्ने नेपालीको हितका निम्ति गरिएको राजनीतिक, कूटनीतिक र व्यवस्थापकीय सुधारजस्ता उपलब्धिहरुले देशमा आशाको नयाँ सन्देश प्रवाह गरेको प्रधानमन्त्री जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट