काठमाडौंमा अहिलेसम्म क–कसको उम्मेदवारी ?

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । काठमाडौं महानगरपालिकको उपमेयर पदका लागि जनिशा भट्टराईले पहिलो उम्मेदवारी दिएकी छन् । उनले आफ्नो उम्मेदवारी स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा गेपहरी भट्टराई र समर्थकमा बद्रीराम विष्ट छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालय सभागृहमा भट्टराईले आफ्नो पहिलो उम्मेदवारी दिएकी हुन् ।

त्यस्तै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट पूर्वसचिव किशोर थापाले पनि मेयर पदमा उम्मेवारी दर्ता गराएका छन् । साझा पार्टीले यसअघि नै उनको नाम काठमाडौं महानगरपालिकाको लागि प्रस्ताव गरेको थियो । साझा पार्टीकै निरुपमा यदवले उपमेयर पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा सदानन्द यादव र समर्थकमा नम्रता यादव छन् ।

त्यस्तै विवेकशील नेपाल दलका तर्फबाट रन्जु दर्शनाले पनि उम्मेदवारी दर्ता गराएकी छन् । २१ वर्षीय दर्शनाको प्रस्तावक विद्याप्रसाद गौतम र समर्थकमा सरदराज खनाल रहेका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट मेयर पदमा निर्मलकुमार थापा र उपमेयरमा चित्रबहादुर केसीकी छोरी ऋतु सापकोटा केसीले उम्मेदवारी दर्ता गराएकी छन् ।

त्यसैगरी, भरतबहादुर बिसुराल अर्थात रेस्लर हिमालयन टाइगरले पनि काठमाडौं महानरपालिकाको मेयरमा पदमा उम्मेद्वारी दर्ता गराएका छन् । रेस्लर हिमालयन टाइगरले स्वतन्त्र उम्मेद्वारका रुपमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

लमजुङ जन्मस्थान भएका बिसुराल केही वर्ष अमेरिका बसेर नेपाल फर्किएका हुन् । नेपालमा रस्लिङ खेलको विकास गर्ने भन्दै अमेरिकाबाट नेपाल फर्किएका उनले संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेद्वारी दिएका थिए । प्रचण्डलाई हराउने उद्घोष गरेका विसुरालको जमानत पनि जोगिएको थिएन ।

त्यसैगरी, नयाँ शक्ति र संघीय समजावादी फोरमले काठमाडौंमा चुनावी तालमेलसहित उम्मेद्वारी दिएका छन् । फोरमका तर्फबाट मेयर र नयाँ शक्तिका तर्फबाट उपमेयर उठाएर चुनावी तालमेल भएको हो ।

संयुक्त उम्मेद्वारी अनुसार मेयरमा पवित्र बर्जाचार्य र उपमेयरमा सविना अर्यालले उम्मेदवारी दिएका छन् । यसअघि नै नयाँ शक्ति र फोरमले चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट