पोखरामा ठूला दलले उम्मेदवार छाने

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

पोखरा, १९ वैशाख । मनोनयनको अन्तिम दिन कास्कीका राजनीतिक दलले पार्टीको तर्फबाट उम्मेदवार घोषणा गरेका छन् । कांग्रेसले पोखरा लेखनाथ महानगरको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ ।

प्रमुख प्रतिस्पर्धी देखिएको एमालेले उम्मेदवार घोषणा गरेपछि अन्तिम समयमा आएर कांग्रेसले सिफारिस गरिएको मेयरमा नरेश शंकर पालिखे, उपमेयरमा चन्द्रावती पौडेललाई उम्मेदवारलाई हटाएर रामजी कुँवर र गुरुङलाई उम्मेदवार बनाएको हो ।

कांग्रेस जिल्ला कार्य समितिले मेयरमा ३३ र उपमेयरमा १५ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको हुँदा केन्द्रले सिफरिस मध्येबाट कुँवर र गुरुङलाई उम्मेदवार तोकेको हो ।

एमालेमा मेयर र उपमेयरका आकांक्षीको भीड लागेपछि पोखरा लेखनाथ महानगर समन्वय कमिटीका ४ सय ४२ सदस्यले मतदान गरी स्थायी समिति बैठकले मेयरमा मानबहादुर जिसी र उपमेयरमा मन्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेको मेयरमा ९ जनाको उम्मेदवारी परेपछि भएको आन्तरिक निर्वाचनमा जिसीले २ सय ४६ मत पाएका थिए । उपमेयरमा ६ जनाको उम्मेदवारी परेकोमा गुरुङले दोस्रो नम्बरमा मत पाएकी थिइन् ।

त्यस्तै सोमबार दिनभरि छलफल गर्दा पनि उम्मेदवार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार बिहानै मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी राप्रपाले मेयरमा गीता गुरुङ र उपमेयरमा रमेश खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट भने मेयरमा हुम गुरुङ र उपमेयरमा लक्ष्मी खाती परियार उम्मेदवार छनोट भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट