निर्वाचन अधिकृत झुन्डिएको अवस्थामा भेटिए : हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । मंगलबार बिहान खादाको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौं पठाइएको स्थानीय प्रहरीले जनाएको छ ।

निर्वाचन अधिकृत गिरीको स्वासप्रश्वास सञ्चालनमा कठिनाई भएकाले अवस्था गम्भीर रहेको उपचारमा संलग्न सिटी अस्पताल विदुरका डा. मनोज रिमालले जानकारी दिए ।

मंगलबार हुने उम्मेदवारी दर्ताको पूर्वतयारी गरी बेलुका १० बजे सुतेका गिरीलाई आज बिहान प्यासेजमा झुण्डिएको समयमा स्वास फेर्न गाह्रो भएर कराएको सुनिएपछि उद्धार गरिएको कालिका गापाको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मोहन श्रेष्ठले जानकारी दिए ।

मंगलबार हुने स्थानीय तह निर्वाचनको उम्मेदवार दर्ताका लागि कालिका गाउँपालिकामा अर्को निर्वाचन अधिकृतको व्यवस्था भइसकेकाले मनोनयन दर्तामा कुनै असर नपर्ने मुख्य निर्वाचन अधिकृत कार्यालय रसुवाले जनाएको छ ।

बेपत्ता छानबिन आयोगमा कार्यरत रहेका उपन्यायाधिवक्ता गिरी स्थनीय तहको निर्वाचनको लागि कालिका गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी लिएर गत साता रसुवा पुगेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट