आइजिपी प्रकरण आजबाट पूर्ण इजलासमा

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको फाइल आजदेखि सर्वोच्चको पूर्ण इजलासमा खुल्दैछ । गत ३० चैतको आदेशअनुसार सर्वोच्चको पूर्ण इजलासमा आजदेखि मुद्दाको सुनुवाइ हुनेछ ।

चार डिआइजीको कार्यसम्पादन मूल्यांकनको फाइल आज सर्वोच्चममा पुनः खुल्नेछ । आइजिपी प्रकरणमा यसअघिको फैसलाका कारण प्रधानन्यायाधीश सुशीला काकीमाथि संसदमा महाभियोग दर्ता भएको छ । महाभियोगका कारण कार्की स्वतः निलम्वनमा परेकी छन् । आजदेखि न्यायपालिकाको नेतृत्व कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्दैछन् ।

सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले गत ८ चैतमा जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णय बदर गरिदिएको थियो ।

सर्वोच्चले कार्यसम्पादनमा डिआइजी नवराज सिलवाल अघि रहेको आदेशमै उल्लेख गरेको थियो । तर, सरकारले सिलवालभन्दा डिआइजी प्रकाश अर्यालको कार्यसम्पादनको अंक बढी रहेको भन्दै २८ चैतमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

नियक्तिपछि सिलवाल पुनः आदेशअनुसार नियुक्ति नभएको भन्दै सर्वोच्च पुगेका थिए । यसबीचमा सिलवाललाई कार्य सम्पादन मूल्यांकनमा किर्ते गरेको अभियोगमा प्रहरीले छानविन समिति गठन गरेको थियो । छानविन समितिले बयानका लागि भन्दै सिलवालाई पक्राउ गरेको थियो । तर, प्रहरीले भने सिलवालाई पक्राउ नगरिएको बताउँदै सोधपुछका लागि मात्र बोलाइएको बताएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट