थापा बाहिरिँदा गच्छदारलाई चान्स !

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन् ।

सोमबार साँझ प्रधानमन्त्रीले यादव र गच्छदारसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा पछिल्लो राजनीतिक स्थितिबारे छुट्टाछुट्टै छलफल गरेका थिए ।

लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले प्रधानमन्त्रीलाई सकारात्मक जबाफ दिएका थिए । गच्छदारले सरकारलाई पार्टीको समर्थन कायमै रहेको जनाएका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय लोकतान्त्रिक फोरमले नगरेको उनले बताएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले गच्छदारलाई सरकारमा आउन पनि आग्रह गरेका थिए । गच्छदारले यसबारे पनि सकारात्मक संकेत गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले संघीय समाजवादी फोरम नेपाललाई पनि सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, फोरम अध्यक्ष यादवले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरिसकेकाले तत्काल यसबारे पुनर्विचार गर्न नसक्ने जवाफ दिएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा यादवले सरकारलाई समर्थन नगरे पनि संसद्मा दर्ता भएको संशोधन प्रस्तावका पक्षमा आफ्नो पार्टी रहेको जानकारी दिएका थिए ।

स्रोतका अनुसार राप्रपाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेकोले अब के हुन्छ भनी प्रश्न गरेका थिए भने प्रधानमन्त्रीले सरकार अल्पमतमा परिनहालेको बताएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट