लाग्यो चुनाव : आज २८३ स्थानीय तहमा मनोनय दर्ता

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । स्थानीय तह चुनावअन्तर्गत पहिलो चरण (३१ वैशाख)मा मतदान हुने स्थानमा आजदेखि औपचारिक रुपमा चुनावको कार्यक्रमहरु सुरु हुँदैछ । पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा हुँदैछ ।

आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यसका लागि दलहरु धमाधम उम्मेद्वारहरुको टुंगो लगाउन जुटेका छन् ।

पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ । ३१ बैशाखमा काठमाडौं, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ ।

प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।

त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।

पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।

निर्वाचन अयोगले उम्मेदवार मनोनयन दर्ताका लागि आज बिहान १० देखि ५ बजेसम्मको समय तोकेको छ । आजै बेलुकी ५ः३० बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

त्यसैगरी, उम्मेदवारको विरोधमा उजुरी गर्ने समय भोलि विहान १० बजेदेखि १ बजेसम्मका लागि तोकिएको छ । मनोनयनपत्र जाँच भोलि नै दिउँसो १ बजेदेखि ११ः३० सम्म हुनेछ ।

निर्वाचन आयोगले बिहीबार विहान ११ः३० देखि १ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन गर्ने छ । उम्मेदवारले नाम फिर्ता लिने समय बिहीबार दिउँसो १ बजेदेखि ५ बजेसम्मलाई तोकिएको छ ।

शुक्रबार विहान १० देखि ११ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । शुक्रबार बिहान ११ देखि ५ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । पहिलो चरणको निर्वाचनअन्तर्गत ३१ वैशाखका दिन विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मदान गर्ने समय तोकिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट