भोलि नै महाअभियोग फिर्ता लिन ओलीको चेतावनी

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

काठमाडौं, १८ वैशाख । एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग अस्वीकार्य भएको बताएको छ । उसले भोलिसम्म फिर्ता लिन चेतावनी समेत दिएको छ ।

स्थानीय तह चुवावको लागि एमालेले बनाएको घोषणापत्र सार्वजनिक गर्न सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाअभियोगको प्रस्ताव बदनियतपूर्वक आएको बताए ।

चुनाव गराउनुपर्ने बेला सरकार नचाहिने बाटोमा हिँडेको भन्दै ओलीले भने, ‘सरकारले भोलि नै प्रस्ताव फिर्ता लेओस् । यो कुनै पनि हालतमा मान्य छैन । यो बदनियतपूर्ण छ र सरकार बदनियत पूर्ण ढंगले चल्न मिल्दैन ।’ आईजीपी प्रकरणसहित मुद्दा प्रभावित पार्न हचुवाका भरमा महाअभियोग दर्ता भएको उनको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘केके हुन खोज्यो’ त्यसैले महाअभियोग ल्याएको भनेको सुनाउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘कीर्तेहरु आत्तिए । भोलि विहान उज्यालो हुन्छ भन्ने थाहा थियो होला तर, राति नै माला लगाउनु पर्ने कारण के त ?’

सर्वोच्चलाई कार्यपालिकाको आदेश तामेली गर्ने संस्था नबनाउन चेतावनी दिँदै ओलीले भने, ‘भोलिकै मुद्दा यसै गर्नु भो भने जनताको विश्वास के हुन्छ ?’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट