अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने पक्राउ

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

खोटाङ, १८ वैशाख । अस्थायी करारमा अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा केदारनाथ खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट खनालले प्रतिव्यक्ति ३५ हजार रुपैयाँका दरले घुस लिने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

अस्पताल परिसरबाटै आइतबार प्रहरीले पक्राउ गरेको खनाललाई नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा बुझाएको छ । खनालले आवेदकबाट आफूले घुस लिएको स्वीकार गर्दै तत्काल सावाब्याज फिर्ता दिने बताएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रहरीका अनुसार खनालका बारेमा थप अनुसन्धान भइरहेको छ । प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

यस्तै नासु खनालले आवेदकबाट घुस लिएको कारण देखाउँदै कांग्रेस खोटाङले आइतबार बिहानैदेखि अस्पतालमा तालाबन्दी गरेको छ ।

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गत माघमा खोटाङका लागि ३० जना अहेबको अस्थायी करार कोटा खुलाएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट