गोरखामा माओवादी उम्मेदवार छनोट

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

गोरखा, १५ वैशाख । नजिकिँदै गरेको स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्र गोरखा कमिटीले दुईवटा नगरपालिकासहित नौवटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्का ‘प्रकाश’ले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा सो नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत निर्णय भएको जानकारी दिए । चुनावी तालमेलका लागि कांग्रेस, एमाले र राप्रपासँग छलफल भइरहेकाले उपप्रमुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने यकिन नभइसकेको बताए ।

पार्टी नेत्री कमला नहर्कीका अनुसार पालुङ्टार नगरपालिकाको प्रमुखमा गुणराज देवकोटा, उपप्रमुखमा पम्फा बसेल, चुमनुब्री गाउँपालिकाको अध्यक्षमा लाक्पा डुण्डप लामा र उपाध्यक्षमा कुमारी गुरुङ तथा धार्चे गाउँपालिकाको अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा आशा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

उता सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, आरुघाट गाउँपालिकाको अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा, भीमसेन गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा लीला श्रेष्ठ, सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा देवकोटालाई उठाउने निर्णय भएको छ ।

यस्तै गण्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना र उपाध्यक्षमा पूर्णा थापा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनीलाई उठाउने भएको छ भने उपप्रमुख तोक्न बाँकी छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट