आधा दर्जन पत्रकार उम्मेदवारको आकांक्षी

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

लमजुङ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा लमजुङका क्रियाशील पत्रकार पनि आकांक्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकारहरु आकांक्षी देखिएका हुन् ।

प्रेस युनियनका पूर्वगण्डकी अञ्चल संयोजक एवं लमजुङ आवाज साप्ताहिकका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाको वडा नं ८ बाट अध्यक्षका लागि कांग्रेस पार्टीमा उम्मेदवारी दिएका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष एवं नेपाल टेलिभिजनका लमजुङ प्रतिनिधि परमेश्वर अधिकारीले काँग्रेसबाट सुन्दरबजार नगरपालिकाको मेयर पदको उम्मेदवारमा आकांक्षा देखाएका छन् । उनले पार्टीमा आन्तरिक उम्मेदवारीसमेत दिएका छन् ।

यस्तै, प्रेस युनियनका अर्का सदस्य एवं अन्नपूर्ण पोष्ट दैनिकका लमजुङ समाचारदाता दीपक अधिकारीले दोर्दी गाउँपालिका–१ को वडा सदस्यमा टिकट पाइसकेका छन् । अधिकारीले वडा सदस्य जितेर जिल्ला समन्वय समितिमा आउने दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलले दोर्दी गाउँपालिकाको प्रमुख पदको उम्मेदवारमा आकांक्षा देखाभएका छन् । पौडेल हाल जिल्लास्थित रेडियो भोटेओडारको निर्देशक र मूलखबर अनलाइनमा आबद्ध हुनुहुन्छ ।

प्रेस सेन्टरका जिल्ला अध्यक्ष रुद्रहरि ढकालले पनि स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका–८ को वडाध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्र पार्टीमा निवेदन दिएका छन् । उनी पनि जिल्लास्थित रेडियो भोटेओडारको व्यवस्थापक हुन् ।

परिवर्तन सन्देश पत्रिकाका सम्पादक नारायण पौडेलले राइनास नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका हुन् । सोही पत्रिकाका कार्यकारी सम्पादक एवं प्रेस सोसाइटी लमजुङका जिल्ला अध्यक्ष वासुदेव थापाले मस्र्याङ्दी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै, पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष एवं ‘लमजुङ दर्पण’ दैनिकका सम्पादक कृष्ण केसीले एमालेबाट बेसीसहर नगरापालिकाको प्रमुख पदका लागि आकांक्षा राखेर पार्टीमा आन्तरिक उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए ।

सबैजनाले आन्तरिक पार्टीमा आकांक्षा व्यक्त गर्दै उम्मेदवारी दिए पनि उम्मेदवार टुंगो भने कसैको पनि भएको छैन । पार्टीमा आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार चुन्न सकस भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट