तीन शीर्ष नेताबीच अझै कुरो मिलेन : एमाले तराईमा संख्या थप्न नदिने अडानमा कायमै

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । तराईका ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने विषयलाई लिएर सरकारले गरेको परिपत्रले एमाले आक्रामक बेको छ । उसले उपप्रधान तथा संघीय मामिला मन्त्री कमल थापाको जवाफका बावजुद दोस्रो दिन पनि संसद बैठकमा अवरोध गरेको छ ।

उता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक पनि विना निश्कर्ष टुंगिएको छ । एमालेले संसद अवरोध गरेको विषयमा कांग्रेस सभापति देउवाले उक्त बैठकमा एमाले अध्यक्ष ओलीलाई ‘तपाईंहरुले निर्वाचन गर्न नचाहेको हो ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले ‘तपाईंहरुले निर्वाचन नगराउन खोजेको हो ? भन्दै उनी प्रश्न तेस्राएका थिए । ओलीले थप प्रश्न गर्दै भनेका थिए, ‘अहिले संख्या किन बढाउनुप¥यो ?’

देउवाले स्थानीय तहको संख्याको अडानमा एमालेले संविधान संशोधन रोकेको भन्दै आरोप लगाएका थिए । जवाफमा ओलीले संविधान संशोधन पारित हुन नदिने बताएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका देउवाले ओलीलाई ‘दुई तिहाई पु¥याएर देखाइदिने’ बताएका थिए ।

दलहरुबीच स्थानीय तहको संख्यामा विवाद भैरहँदा संसद बैठकमा संविधान संशोधन विधेयक पेश हुन सकेको छैन । ओलीले अहिले तराईका जिल्लामा मापदण्ड घटाएर सयभन्दा धेरै स्थानीय तह थप्न लागिएकोमा विरोध जनाएका हुन् । कांग्रेसले भने स्थानीय तहको कारण देखाएर संविधान संशोधन र निर्वाचन एमालेले रोक्न खोजेको आरोप लगाएको छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले भने तराईका ११ जिल्लामा मात्र नभई १९ जिल्लामै स्थानीय तहको संख्या थप्ने प्रस्ताव गरेका छन् । मंगलबार एमालेको अवरोधले नबसेको संसद बैठकमा बुधबार बिहानै उपप्रधानमन्त्री थापाले जवाफ दिएका थिए । तर, एमालेले जवाफ चित्त नबुझेको भन्दै बैठकमा अवरोध गरेको हो । एमालेले स्थानीय तहको संख्या बढाउने प्रस्तावको विरोध जनाउँदै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट