राप्रपाको घाषणापत्र सार्वजनिक : गाई मार्नेलाई दण्ड, मस्जिद र चर्च पनि संरक्षण गरिने

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हिन्दु राष्ट्रको पक्षपाती राप्रपाले गाई मार्नेलाई कडा सजायँ गर्नेखालको कानून बनाउने प्रतिवद्धता जनाएको छ । राप्रपाले गाईको संरक्षणका लागि प्रत्येक गाउँ र नगरपालिकामा गौशालाहरु निर्माण गरिने बताएको छ ।

बुधबार सार्वजनिक गरिएको राप्रपाको घोषणापत्रमा सबै धर्मका बीचमा समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता सुनिश्चत गरिने बताइएको छ । राप्रपाले आफ्नो घोषणापत्रमा मठ मन्दिरहरुलाई मात्रै नभएर चर्च, मस्जिद र गुम्बाहरुलाई पनि संरक्षण र सहयोग गर्ने धार्मिक नीति अघि सारेको छ ।

उसले घोषणापत्रमा भनेको छ, ‘हिन्दु, बौद्ध र किरात मठ, मन्दिर, गुम्बा लगायत अन्य धर्मरआस्थाका पूजा आराधना स्थल (मस्जिद र चर्च) को निर्माण, संरक्षण र सञ्चालनमा सहयोग गरिनेछ ।’ तर, राप्रपाले धर्म परिवर्तन गर्न नदिने बताएको छ ।

जातीय आधारमा मन्दिर प्रवेशमा रोक लगाउने प्रथा पूर्णरुपमा अन्त गरिने राप्रपाले जनाएको छ । सबै जाति र समुदायलाई समान रुपमा पूजा आराधना र उपासना गर्न पाउने व्यवस्था सुनिश्चित गरिने उसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

राप्रपाले विद्यालयहरुको पाठ्यक्रममा नैतिक र आध्यात्मिक शिक्षासमेत समावेश गरिने घोषणापत्रमा उल्लेख गरेको छ । सबै प्रकारका जातीय, वर्गीय एवं लिंगीय भेदभाव र छुवाछुत प्रथालाई अन्त गरिने राप्रपाले बताएको छ । त्यस्तो कार्यमा संलग्न हुनेलाई सख्त कार्वाही गरिने उसले घोषणापत्रमा उल्लेख गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट