दुई दशककै उच्च आर्थिक वृद्धिदर

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । २३ वर्षपछि नेपालले उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । नेपालले चालु आर्थिक वर्ष ०७३/७४ मा ६.९४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने भएको हो । आव ०५०/५१ पछिको यो उच्च आर्थिक वृद्धि हो । चालु आवको ९ महिनासम्मको यथार्थ तथ्यांकका आधारमा आउँदा ३ महिना सामान्य रहने अनुमानका आधारमा देशको आर्थिक वृद्धि ७ प्रतिशत नजिक पुग्ने देखाएको हो ।

तथ्यांक विभागले पत्रकार सम्मेलन आयोजना गरी आर्थिक वृद्धिबारे जानकारी गराएको हो । राष्ट्रिय योजना आयोग सचिवालयका सचिव चन्द्रकुमार घिमिरेले आर्थिक विकासको हिसावले चालु आव फलदायी भएको बताए । विभागका अनुसार चालु मूल्यमा उभोगखर्च २३ खर्ब ३२ अर्ब रुपयाँ पुगेको छ । अनुकुल मौसमका कारण धानलगायत अन्य खाद्य वालीको अपेक्षा गरिएभन्दा बढी उत्पादन, आधारभूत रुपमा लोडसेडिङ हटेर औद्योगिक उत्पादनमा विस्तार, बन्द, हड्ताल नभएपछि आपूर्ति व्यवस्थामा सुधार र पुननिर्माणका काम अघि बढेकाले समग्र रुपमा आर्थिक वृद्धि भएको विभागको भनाई छ । यद्यपी पुँजीगत खर्च हुन नसक्दा आर्थिक वृद्धि अझ बढ्न अवरोध भएको छ ।

०४६ सालको राजनीतिक परिवर्तनपछि आव ०५०/५१ मा नेपालले ७.७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हासिल गरेको थियो । तर, अस्थिर सरकार र माओवादी द्वन्द्वका कारण आर्थिक वृद्धि लक्ष्यभन्दा कम हुँदै आएको थियो ।

विनासकारी भूकम्प र नाकाबन्दीले गत आवमा आर्थिक वृद्धि खुम्चिएर ०.७७ प्रतिशतमा सीमित भएको भनिए पनि विभागले गरेको संशोधित अनुमानका अनुसार आर्थिक वृद्धि ०.०१ प्रतिशत मात्र रहेको छ ।

दोस्रो जनआन्दोलनपछि पनि राजनीतिक अस्थितरता र स्थिर र बलियो सरकार नहुँदा आर्थिक वृद्धि अपेक्षाकृत हासिल हुन सकेन् । एक दशकको अवधिमा आर्थिक वृद्धि ५.७ प्रतिशतसम्म भएको विभागले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले साढे ६ प्रतिशत आर्थिक वृद्धिको हासिल गर्ने गरी १० खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सरकारले लिएको भन्दा झण्डै ०.५ प्रतिशत बढी लक्ष्य प्राप्ति हुने देखिएको छ । आर्थिक वर्ष सकिन अझै केही महिना बाँकी भएकलो वृद्धि ७ प्रतिशत पुग्नसक्ने केन्द्रीय तथ्यांक विभागको अनुमान छ । चालु आव सकिन अझै ३ महिना बाँकी भएको आधारमा विभागले यो वृद्धि लक्ष्य हुने अनुमान गरेको हो ।

विभागका अनुसार समष्टिगत रुपमा कृषिको ५.२९ र गैरकृषि क्षेत्रको ७.७४ प्रतिशत वृद्धि रहेको छ । कुल ग्राहस्र्थमा कृषिको योगदान २९.३९ र गैरकृषि क्षेत्रको ७०.६३ प्रतिशत छ । अघिल्लो वर्ष कृषिको ०.०३ र गैरकृषिको ०.१६ प्रतिशत रहेको विभागले जनाएको छ ।

नेपालको अर्थतन्त्रको आकार कुल ग्राहस्र्थ उत्पादनको आधार मूल्यमा २२ खर्ब ९३ अर्ब ३८ करोड रुपैयाँ छ । यस्तै कुल ग्राहस्थ उत्पादनको खरिदकर्ताको मूल्यका आधारमा २५ खर्ब ९९ अर्ब २३ करोड रुपैयाँ रहेको विभागले जानकारी दिएको छ ।

यो वर्ष ऊर्जा, ग्यास र पानी क्षेत्रको वृद्धि सबैभन्दा बढी १२.९७, निर्माणको ११.६६, उत्पादनमुलक क्षेत्रमको ९.७०, होलसेल तथा खुद्रा व्यापारको ९.७६, खानीको ८.१९, सार्वजनिक प्रशासन तथा रक्षाको ९.६४ लगायत १५ क्षेत्रको वृद्धि अपेक्षा गरिएको भन्दा राम्रो भएपछि देशको आर्थिक वृद्धि लक्ष्य भन्दा बढी हुन लागेको हो ।

विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले यो वर्ष नेपालको अर्थतन्त्र विस्तार भई ६.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको थियो । हालै विश्व बैंकले पनि साढे ६ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोषले साढे ५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विपरित नेपालको उच्च आर्थिक वृद्धि भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट