शुल्क बढी लिने २६ विद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गर्ने

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । विद्यार्थी संगठनहरुले राजधानीका २६ विद्यालयमा तालाबन्दी गर्ने भएका छन् । कुन–कुन विद्यालयमा तालाबन्दी गरिने भन्नेबारे नखुलाए पनि विद्यार्थी संगठनहरुले सरकारको तोकेको सिलिङ र सर्वोच्च अदालतले दिएको आदेश विपरीत शुल्क बढाएका निजी विद्यालयमा तालाबन्दी गर्न लागेका हुन ।

कतिपय निजी विद्यालयले सरकारले तोकिदिएको सिलिङभन्दा बढी शुल्क लिएको भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, माले, जनमोर्चा लगायत दल निकट विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । ती विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने कार्यक्रम तय गरिएको विद्यार्थी नेताहरुले बताएका छन् ।

माले निकट अनेरास्ववियुका घनश्याम मिश्रकाअनुसार तालाबन्दी गर्नका लागि उपत्यकाका २६ विद्यालयको लिस्ट तयार गरिएको छ । उनले भने, ‘ट्रस्टमा गएका सामुदायिकबाहेक शुल्क बढाएका सबै विद्यालयहरु तालाबन्दी गरिनेछ ।’

विद्यार्थी संगठनहरुले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि धर्ना दिएका थिए । उनीहरुले बिहीबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा पनि तालाबन्दी गर्ने कार्यक्रम राखेका छन् ।

यसअघि शुल्क फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरुले शिक्षामन्त्री धनिराम पौडेललाई ज्ञापनपत्र बुझाइसकेका छन् ।

‘शुल्क खारेजीको लागि तीन दिनको अल्टिमेटम दिएका थियौँ तर, सुनुवाई नभएपछि तालाबन्दीलगायतका कार्यक्रम तय गरेका हौँ’, अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले भने । शुल्क फिर्ता नभए अझै कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनीसमेत दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट