महाविनासपछिको दुई वर्ष

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

काठमाडौं, १२ बैशाख । आज १२ वैशाख । विनाशकारी भूकम्प गएको दिन । दुई वर्ष पुग्यो भूकम्प गएको । भूकम्पले १४ जिल्लामा ठूलो धनजनको क्षति ग¥यो । हजारौंले ज्यान गुमाए । लाखौंले बास गुमाए ।

भूकम्पले १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ परिवारको घर भत्कियो । सरकारले भत्किएका घर ठड्याउने घोषणा ग¥यो तर एउटै घर पनि ठड्याउन सकेन । भूकम्पले भत्काएको संरचना उठाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खडा गरियो । भूकम्प गएको दुई वर्ष पुग्दा पनि सरकारको अनुदानबाट निर्माण सम्पन्न घरको संख्या शून्य छ ।

यसबीच ४ सय २० परिवारले तेस्रो किस्ता लिएका छन् । तेस्रो किस्ता लिएपछि घर निर्माण सम्पन्न भएको मानिन्छ । यसहिसाबले २ वर्षको अवधिमा ४ सय २० परिवारले घर ठड्याए भन्न सकिन्छ । तर, प्राधिकरणकै वेबसाइटमा यी घर बनाउन गैरसरकारी संस्थाले तेस्रो किस्ताबापतको रकम अनुदान दिएको उल्लेख छ । सरकारबाट तेस्रो किस्ता अनुदान लिनेको संख्या शून्य लेखिएको छ वेबसाइटमा ।

निजी आवास निर्माणका लागि सरकारले तीन लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । यही रकम समयमा उपलब्ध गराउन नसक्दा भूकम्पले भत्केका घर ठडिन नसकेको पीडितको गुनासो छ ।

सरकारले अनुदान उपलब्ध गराएपछि घर बन्ने क्रम भने जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ५ लाख ५७ हजार ४ सय ६१ जनाले घरको जग राख्न लिने पहिलो किस्ताको डेढ लाख रुपैयाँ अनुदान बुझिसकेका छन् । यसमध्ये ४९ हजार ८ सय ३८ परिवारले घर बनाउन थालेको भुसालले जानकारी दिए ।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू) को पछिल्लो तथ्यांकले ७ सय ८ जनाले तेस्रो किस्ताका लागि प्रमाणीकरण भएको देखाएको छ । एकाइले प्रत्येक दिनको तथ्यांक अद्यावधिक गर्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट