विरोध र नाराबीच संविधान संशोधन संसदमा पेश

प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख । सोमबार एमालेको असहमति र नेपाल मजदूर किसान पार्टीका सांसदहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा पेश भएको छ ।

संसदको सुरुमा कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन बिधेयक पेश गर्दा प्रमुख विपक्षी एमालेले कुनै अवरोध वा बिरोध नजनाए पनि मजदूर किसान पार्टीका तीन सांसदले बिरोधमा नारा लगाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसदहरु प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा मगरले विरोधको सूचना दर्ता गराएका थिए ।

त्योभन्दा पहिले संसदमा विशेष समय लिइ एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संविधान संशोधन बिधेयक कुनै हालतमा स्वीकार नगर्ने बताएका थिए ।

सांसदहरुलाई संशोधन विधेयकमा संशोधन राख्न ७२ घन्टाको समय दिइएको छ । सरकार र मधेसी मोर्चाबीच भएको सहमति अनुसार सत्तारुढ दलबाटै संशोधन हुने छ ।

संविधानको दोश्रो संशोधन विधेयक २०७३ मा परेको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट