५० लाखभन्दा बढी लगानीमा बौद्ध विहार निर्माण

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

म्याग्दी, १० वैशाख । बेनी नगरपालिका–७ मा ५० लाख रुपैयाँभन्दा बढी लगानीमा बौद्ध विहार निर्माण भएको छ । म्याग्दी बौद्ध संघले बौद्ध विहारको निर्माण गरेको हो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महाअष्टवीरले शनिबार उद्घाटन गरे । विहार निर्माणका लागि बेनीको संगमचोक निवासी पुण्यबहादुर र लक्ष्मी शाक्यले १ रोपनी ७ आना जग्गा सहयोग गरेका थिए ।

मंगलाघाट बजारमाथि रहेको बौद्ध विहार क्षेत्र शान्त र एकान्त वातावरणमा अवस्थित छ । बौद्ध विहार परिसरबाट सदरमुकाम बेनी बजार र मंगलाघाटको अवलोकन गर्न सकिन्छ । विहारमा दैनिक पूजाआजा, साप्ताहिक रुपमा धर्मादेशना हुने गरेको छ ।

समुदायस्तरबाट ५३ लाख रुपैयाँ सहयोग जुटाएर बुद्ध विहारको भवन निर्माण भएको म्याग्दी वौद्ध संघका सचिव याम शाक्यले बताए । दुईतले पाँच कोठे विहारमा पूजास्थल, प्रवचनस्थल र भिक्षु निवास रहेको छ ।

यसैगरी ३ लाख रुपैयाँको लागतमा प्रवेशद्वार र ६ लाख रुपैयाँको लागतमा विहारसम्म जाने बाटोमा रेलिङ राखिएको छ । विहारमा पूर्वाधार निर्माणका लागि साविकको जिविस र पर्यटन कार्यालय पोखराले रु सात लाख सहयोग गरेका छन् ।

पाँच वर्षअघि टिनले छाएको अस्थायी टहरामा रहेको बौद्ध विहार परिसरको पूर्वाधार निर्माणसँगै अहिले कायापलट भएको छ । पूर्वाधार सुविधासँंगै भक्तजन र आन्तरिक पर्यटकको आगमन पनि बढ्न थालेको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट