तयार भयो संघीय प्रहरी ऐनको मस्यौदा, प्रहरी अधिकारीहरू नै असन्तुष्ट

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

काठमाडौं, १० वैशाख । संघीय प्रणालीअनुसार नेपाल प्रहरीको संरचना तयार गर्न गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार गरेको छ । गृहले तयार गरेको मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी) को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी) र प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) राख्ने प्रस्ताव गरिएको छ । गृह मन्त्रालयकी सहसचिव निर्मला अधिकारी भट्टराई संयोजकत्वको समितिले मस्यौदालाई अन्तिम रूप दिएको हो ।

प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि अध्ययन गर्न गृहले दुईवटा समिति बनाएको छ । सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा निर्देशक समिति बनेको छ, जसमा प्रहरी महानिरीक्षक, महान्यायाधिवक्ता, कानुन सचिवलगायत सदस्य छन् । त्यस्तै, सहसचिव निर्मला अधिकारीको संयोजकत्वमा अर्को ऐनको मस्यौदा समिति बनेको थियो । सोही समितिले ऐनको मस्यौदा तयार बनाएको हो ।

यसअघिका विभिन्न कार्यदलले प्रहरीको केन्द्रमा महानिर्देशक तथा प्रदेशमा महानिरीक्षक राख्न सुझाब दिएका थिए । त्यसविपरीत उक्त समितिले केन्द्रमा महानिरीक्षक र प्रदेशमा अतिरिक्त महानिरीक्षक राख्न प्रस्ताव अघि बढाएको हो । प्रहरी अधिकारीहरू भने यो प्रावधानप्रति असन्तुष्ट रहेको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट