राजधानीमा तेलको माग दोब्बर बढ्यो, आत्तिएर स्टक नराख्न निगमको आग्रह

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, ७ वैशाख । संयुक्त लोकतानित्रक मधेसी मोर्चाले स्थानीय तह चुनाव अस्वीकार गर्दै नेपाल बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै राजधानीका पेट्रोल पम्पहरुमा लाइन देखिन थालेको छ ।

उपभोक्ताले तेल स्टक राख्न थालेका कारण पेट्रोलको माग एकाएक दोब्बर भएको छ । नेपाल आयल निगमका अनुसार मोर्चाको आन्दोलन घोषणापछि पेट्रोलको माग ७ लाख लिटर पुगेको छ । यसअघि राजधानीमा दैनिक पेट्रोलको माग साढे ३ लाख लिटर मात्रै थियो ।

निगमका प्रवक्ता सीताराम पोखरलले मोर्चाले आन्दोलनको घोषणा गरेका कारण राजधानीमा पेट्रोलको माग दोब्बर भएको बताए । उनले पेट्रोल स्टक गरेर राख्न थालेकोले माग बढेको बताए । ‘तीन दिनअघिसम्म साढे तीन लाख लिटर दिँदा कुनै समस्या थिएन । तर, अहिले पेट्रोलको माग ७ लाख लिटर पुगेको छ,’ उनले भने, ‘उपभोक्तामा मनोवैज्ञानिक त्रासले स्टक गरेर राख्न थालेको देखिन्छ ।’

नेपाल आयल निगमले भारतबाट सहज रुपमा पेट्रोलियम पदार्थ आइरहेको जनाउँदै उपभोक्तालाई आत्तिएर स्टक नराख्न आग्रह गरेको छ । गर्मीको समयमा तेल स्टक गर्नु जोखिमपूर्ण हुने बताउँदै जथाभावी तेल स्टक राखेर जोखिम नबढाउन निगमले आग्रह गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट