स्कुलमा पाँचजना शिक्षक, पाँचैजना विद्यार्थी

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

पर्वत, ७ वैशाख । कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित जनएकता प्राथमिक विद्यालयमा १ कार्यालय सहयोगीसहित ५ शिक्षकको दरबन्दी रहेको छ । कक्षा ३ सम्म आधारभूत प्राविको पढाइ हुने उक्त विद्यालयमा चालु शैक्षिकसत्रमा ११ विद्यार्थी भर्ना भए पनि अहिले ५ जना मात्र नियमित आउने गरेका छन् ।

स्थानीयवासी दिनप्रतिदिन बसाइँ सर्ने क्रम बढेपछि विद्यार्थीको संख्या घटेको हो । त्यसमाथि केही विद्यार्थी आसपासको माविमा पढ्न जान थालेपछि उक्त विद्यालयको यो हाल बनेको हो ।

०४८ सालमा स्थापना भएको सो विद्यालयले केही वर्षपहिले ५० जनासम्म विद्यार्थी पढ्न आउने गरेका भए पनि अहिले एकपछि अर्को गरेर विद्यार्थी संख्या घट्न थालेको विद्यालयले जनाएको छ ।

विद्यालयमा बाल शिक्षामा अध्ययन गर्नेसहित अहिले ५ विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको विद्यालयका प्रध्यानाध्यापक अमृत गुरुङले बताए । उनले गाउँमा प्रायः विद्यार्थी नभएको भन्दै साविकको आर्थर गाविस ठूलो भएपनि जनजातिका कुनै पनि विद्यार्थी विद्यालयमा पढ्न नआउने बताए । उहाँका अनुसार विद्यालयमा दलित विद्यार्थी मात्र पढ्न आउने गरेका छन् । विद्यार्थी पढ्न नआएको खण्डमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्थासमेत आउने गरेको छ ।

जिल्ला शिक्षा कार्यालय पर्वतले न्यून विद्यार्थी भएका विद्यालय गाभ्ने नीति ल्याएको भए पनि उक्त विद्यालय भने अहिलेसम्म गाभिएको थिएन । विद्यार्थीको संख्या यही अवस्थामा रहेमा उक्त विद्यालयलाई नजिकैको अर्कोसँग गाभ्ने तयारी गरिएको जिल्ला शिक्षा कार्यालले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट