मधेसका पाँच दलबीच एकता, आजै घोषणा गरिँदै

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, ७ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ७ मध्ये ५ दलबीच एकता भएको छ । स्रोतका अनुसार आजै दिउँसो राजधानीमा एकताको घोषणा गरिनेछ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता भएको हो ।

महन्थ ठाकुर अध्यक्ष रहने नयाँ पार्टीको नाममा ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिह्न र झन्डा ‘छाता’ रहनेछ । केही समयअघिदेखि नै मधेसवादी दलबीच एकता प्रयास जारी रहे पनि वरियतामा कुरो मिलेको थिए । सबै दलका नेताहरु महन्थ ठाकुरलाई नेता मान्न तयार भए पनि दोस्रो वरियतामा को रहने भन्ने विषयमा एकता प्रक्रिया अड्किएको थियो ।

दोस्रो तहको वरियता विवाद नमिलेपछि जावलाखेलको एक निजी घरमा बुधबार राति पौने २ सम्म चलेको एकता बैठकले अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय गरेको छ । ठाकुरलाई सर्वमान्य नेता बनाएर आफू अध्यक्ष हुने कसरतमा केही नेता लागे पनि अन्तिममा अध्यक्षमण्डल बनाएर सामुहिक नेतृत्व गर्न उनीहरु सहमत बनेका हुन् ।

स्थानीय तह चुनावको सक्रिय बहिष्कार गर्नेगरी तत्कालै आन्दोलनलाई गति दिने बैठकले निर्णय गरेको छ । झन्डै दुई वर्षदेखि वार्ता र आन्दोलनमा सँगसँगै भए पनि ठोस परिणाम नएकाले अब एकीकृत पार्टीले निर्णायक आन्दोलन गरेर संविधानमा संशोधनको वातावरण बनाउने अध्यक्ष ठाकुरले दाबी गरे ।

नेताहरुले अहिलेकै अवस्थामा एकीकृत पार्टीले चुनाव वहिष्कार गरेर आन्दोलनमा जाने बताएका छन् । नयाँ पार्टीले मोर्चाको नामबाट घोषणा भएका कार्यक्रमलाई नै नेताहरुको भनाइ छ ।

नेपाल सद्भावना पार्टी अध्यक्ष अनीलकुमार झा बुधबार उपत्यका बाहिर भएकाले यो एकता प्रक्रियामा उनी छुटेको बताइएको छ । आजै बिहान कुराकानी गरेर एकता टुंगो लगाइने बैठकमा सहभागी नेताहरुले बताएका छन् । झासँग कुरोमिलेपछि एकता हुने दलको संख्या ६ पुग्ने छ । एकीकृत पार्टीलाई हालका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादवले सामूहिक अध्यक्षमण्डलको नेताका रुपमा नेतृत्व गर्नेछन् । अनील झा पनि जोडिएमा उनी पनि अध्यक्ष मण्डलको नेता हुने बैठकको निर्णय छ ।

एकता हुने दलमध्ये सद्भावना पार्टी ०४७ सालमा स्थापित भएको थियो । अरु घटक भने ०६४ सालमा स्थापित भएका थिए । विभाजनको १० वर्षभित्र अनेक उतारचढाव भोगेका उनीहरु एउटै पार्टी बनाउने निर्णयमा पुगेका हुन् । नेताहरुले यो एकीकरणलाई दलहरुको नभई आन्दोलनको एकीकरण भनी अथ्र्याएका छन् । एकीकरण गर्ने निर्णयमा पुगेका पार्टीहरुको संसदमा २२ सिट छ । नेपाल सद्भावना पार्टी पनि एकतामा सामेल भए यो संख्या २३ पुग्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट