राष्ट्रगानका सर्जक व्याकुल माइला बने काठमाडौंका विकासदूत

प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

काठमाडौं, ६ वैशाख । राष्ट्रगानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) काठमाडौं महानगरपालिकाका विकासदूत बनेका छन् । काठमाडौं महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ र सफा बनाउने अभियानका लागि माइलालाई विकासदूत बनाइएको हो ।

माइला र काठमाडौं महानगरपालिकाबीच एक वर्षका लागि यस्तो सम्झौता भएको हो । सम्झौतापत्रमा माइला र महानगरबीच हस्ताक्षर भइसकेको छ । सम्झौताअनुसार सम्मानस्वरुप माइलाले मासिक ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले राष्ट्रगानका सर्जकसँगको सहकार्यले सहरी व्यवस्थापनका सम्भावना र चुनौतीबीच विकासको तरंग ल्याउन सकिने विश्वास व्यक्त गरे । विकासदूतले सहरी व्यवस्थापनअन्तर्गत राजस्व परिचालन, सहरी आचरण, विकासलगायत महानगर र महानगरवासीबीच सिधा सम्पर्क हुने क्षेत्रमा काम गर्नुपर्नेछ ।

काठमाडौं महानगरपालिका ऐतिहासिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेका कारण यसको सौन्दर्यलाई बढाउँदै दिगो विकासमा लाग्नुपर्ने माइलाले प्रतिक्रिया दिए । सहरी सभ्यता तथा संस्कृतिको निर्माणका लागि महानगरपालिकाले आफूसँग सहकार्य गरेकामा आफूलाई खुसी लागेको माइलाले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट