धरानलाई एकेडेमिक हब र पर्यटकीय केन्द्र बनाउन सकिन्छ

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

पूर्वको सुन्दर नगरी धरानका स्थानीय हुन् प्रकाश राई । राजनीति, समाजसेवा र व्यवसायलाई सँगसँगै अगाडि लैजान सफल राईसँग धरानकै सामाजिक समस्याहरु र स्थानीय तहको निर्वाचनबारे रिपोर्टर नेपालका लागि रेनु कार्कीले गर्नुभएको कुराकानी :

तपाईंको राजनीतिक यात्रा कसरी सुरु भयो ?
म वामपन्थी पृष्ठभूमी भएको मान्छे । पञ्चायतकालमा दरबारमा राजा, राजकुमारले गरेका विकृतिका कुराहरु, अन्यायका कुराहरु सुनिन्थ्यो त्यहीँ कुराले होला सायद ८–९ कक्षामा पढ्दादेखि नै अलिकति वामपन्थी झुकाव भयो । ०३५ सालमा एसएलसी दिएँ र धरान सहर पढ्न आएपछि सम्बन्ध–सम्पर्क नै वामपन्थीसँग भएको हुनाले त्यहाँबाट निरन्तर अहिलेसम्म वामपन्थी भएरै पार्टीले दिएको जिम्मेवारी आफूले सकेसम्म पूरा गरिरहेको छु । हाल चाहिँ म नेकपा एमाले सुनसरी जिल्ला कमिटीको सचिवालय सदस्य र धरान क्षेत्र नम्बर १ को म इन्चार्ज पनि हुँ ।

सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ, होइन ?
मैले त्यस्तो ठूलो योगदान त गरेको छैन । तर, आफ्नो वरिपरी रहेरका २–४ वटा स्कुलमा व्यवस्थापन समितिको अध्यक्ष बनेँ । क्लबहरुमा, सुनसरी रेर्ड क्रसमा काम गरेँ, अहिले म किरात राई यायोक्खा सुनसरीको सल्लाहकार हुँ । अरु केही संघ–संस्थामा कुनैमा सल्लाहकार छु, कुनैमा म्यानेजमेन्ट कमिटीमा छु । अहिले मेरो व्यवसाय भनेको सुनचादी व्यवसाय हो । केन्द्रीय कार्यालय सुनसरीको म कार्याकारी सदस्य अनि मेरो आफ्नै प्राइभेट विद्यालयको व्यवस्थापक र कम्युनिटी स्कुलको सल्लाहकार हुँ ।

तपाईंले धेरैपटक विदेश भ्रमण गर्नुभएको छ, धरानले के लाभ लिन सक्ला ?
म नेपाल पिस एन्ड सोलिडारिटी काउन्सिलको सदस्य हुँ । यो विश्वका वामपन्थीहरुको संगठन हो । यो हिंसाविरुद्धको अभियान हो । उपनिवेशवादको विरोध गर्छ यसले । धरानकै सवालमा ठ्याकै भन्न चाहिँ अलि अप्ठ्यारो हुन्छ । राष्ट्रको प्रतिनिधिको रुपमा म विदेश भ्रमणमा गएको हो । धेरै देशहरुमा पुग्दा धरानलाई पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भन्ने महसुस गरेको छु । एकेडेमिक हब बनाउन सकिन्छ । पार्टीमा पनि यस्तै योजनासहितको घोषणापत्र बनाएका छौँ । भोली पूर्वकै एउटा एकेडेमिक हब अथवा पर्यटकीय केन्द्र बनाउन सकिन्छ । विश्व विद्यालयहरु स्थापना गरेर, कुनै प्रविधिक क्यामपसहरु जस्तै केन्द्रीय क्यामपस हात्तीसारलाई विकास गरेर अझ अघि लानुपर्छ भन्ने लागेको छ ।

अलिकति चुनावी कुरा गरौँ, धरानमा स्थानीय तहको चुनावको माहोल कस्तो छ ?
बाटो–घाटो, सार्वजनिक यातायात, चिया पसल साथै विभिन्न भेटघाट तथा भेलाहरुमा मानिसहरुमा एक प्रकारको उत्साह देखिन्छ । सबै एक प्रकारले उत्सुक छन् । हिजो नजन्मेकाहरु पनि १८–१९ वर्षका भैसके, उनीहरुले पनि अब भोट हाल्न पाउने छन् त्यसले गर्दा एउटा माहोल चाहिँ आएको छ । सबैजना आतुर छन् त्यो मैले पाएको छु ।

तपाईंलाई नि ?
स्वाभावैले लागेको छ । म नेकपा एमालेको नीति मान्ने मान्छे भएको हुनाले संविधान कार्यान्वयनका लागि स्थानीय चुनाव, प्रदेश र केन्द्रको चुनाव गर्नुपर्छ । म लागेको छु । अब हिजोभन्दा बढी समय दिनुपर्ने अवस्था आएको छ ।

धरानमा एमालेको पोजिसन कस्तो छ ?
धरानमा हिजो पनि एमाले नै थियो, आज पनि एमाले नै । कसैले केही गर्न सक्दैन ।

कसरी, किन ?
एक त मजबुत संगठन । एमालेले चुनाव आए पनि नआए पनि आफ्नो संगठन विस्तारको काम गरिरहेको छ । विकासको काममा पनि सक्रिय छ । जनतासँग सरोकार भएका कुराहरुमा काम गर्दै आएको छ । यसकारण एमाले नै अघि छ । अरु पार्टीले एमालेसँग प्रतिस्पर्दा गर्नै सक्दैन । धरानको महेन्द्र क्याम्पस एउटा पुरानो वामपन्थीहरुको अखडा हो । जहाँबाट देशलाई नै उर्जा दिने वामपन्थी नेताहरु उत्पादन भएका छन् । त्यही भएर अहिलेसम्म पञ्चायत पछिका स्थानीय होस् या केन्द्रको सबै चुनावमा वामपन्थीहरुले नै वर्चश्व राख्दै आएको छ । यसपाली त झनै एमालेको पक्षमा जनमत छ ।

ढुक्क हुनुहुन्छ ?
ढुक्क भएर बस्न त सकिँदैन । तर, हाम्रो क्षेत्र नम्बर १ मा एमालेकै संसद हुनुहुन्छ, केन्द्रबाट आएको बजेट हामीले राम्ररी विनियोजन गरेका छौँ भन्ने जनताले देखेका छन् । आदिवासी/जनजातिको नारालाई अरुभन्दा एमालेले स्पष्टसँग उठाएको हुनाले एमाले अघि छ ।

खास के गर्नुभयो आदिवासी/जनजातिका लागि ?
आदिवासी/जनजातिको अधिकार त संविधानमा लेखिएको छ । आदिवासी/जनजातिको कुरा, महिलाको कुरा, दलितको भिन्दै आयोग बनायो, मधेसी आयोग बनायो । त्यसमा प्रमुख प्रस्तावक एमाले भएको हुनाले जनताको पक्षमा एमाले अलि बढी चर्चित छ भन्ने हो ।

आदिवासी/जनजातिप्रति एमालेको धारणा सही छैन भनेरै धेरैले पार्टी छोडे, के भन्नुहुन्छ ?
केही जनजाति नेताहरुले छोड्नु भएको छ । उहाँहरुको बुझाइ गलत हो । व्यक्तिगत लेनदेनमा तलमाथि भएका कुरा होला । आदिवासी÷जनजातिसम्बन्धी हाम्रो विधानमै उल्लेख छ हरेक कुरा । संगठनको ढाँचामै आदिवासी÷जनजातिको भिन्दै कोटा छन्, महिलाको भिन्दै छ, दलितको भिन्दै छ । स्थानीय रुपमा जनजातिको बहुल क्षेत्रमा जनजातिलाई नै प्रतिनिधित्व दिने कुरा छ । स्थानीयको चुनावको कुरा नगरौँ, क्षेत्रीयको कुरा नगरौँ, संगठनकै सवालमा अधिकतम जनजाति भएको ठाउँमा जनजातिकै संगठन प्रमुख, उपप्रमुख छन् । यो हिसाबले पनि अब एमाले जनजातिको पक्ष र जनजातिकै पार्टी हो ।

धरान उपमहानगरपालिका प्रमुखमा पार्टीले तपाईंलाई अघि बढाउने चर्चा सुनिँदैछ नि ?
पार्टीले के जिम्मा दिन्छ त्यहीँ काम गरिन्छ । म पार्टीको एउटा बफादार सिपाही हुँ । पार्टीको एक बहादुर सिपाहीमा गणना हुन पाए हुन्थ्यो भन्ने लाग्छ नि !

तपाईंको व्यक्तिगत चाहना पनि हो ?
अहिले मेरो त्यस्तो चाहना छैन । यहाँ अरु साथीहरु हुनुहुन्छ । भोली पार्टीले नै ‘तँ उठ्नै पर्छ’ भनेको खण्डमा चाहिँ पार्टीको एक सच्चा सिपाही भएपछि नाइ भन्ने कुरा आएन ।

धरानको विकासका लागि तपाईँसँग कस्तो योजना छ ?
नेकपा एमालेको एउटा मूल घोषणा छ, योजनाहरु छ त्यसैमा अघि बढ्ने हो । हामीले धरानलाई एकेडेमिक हबको रुपमा विकास गर्न खोज्ने छौँ । पूर्वाधारको कुराहरु छ । प्राकृतिक संरक्षको कुराहरु छ । खानेपानीको समस्या छ । धरानलाई यहाँका केही खोलाहरु जस्तै सर्दू, सेउती, खहरे आदि २–४ वटा खोलाले दुःख दिइरहेको छ । लोक मार्गको कुरा आइरहेको छ । धरानलाई व्यवस्थित रुपमा ठूलो बनाउनु छ । शैक्षिक संघसंस्थाहरुको गुणस्तरका सवालहरु छन् । कम्युनिटी स्कुलहरु खोलेर सबैका बच्चाले पढ्न पाउने व्यवस्था गर्नुछ । सामाजिक उच्छृंखलता नियन्त्रण गर्दै शान्ति सुव्यवस्था कायम गर्नुछ । आदर्श नागरिकका लागि धरान उपयुक्त ठाउँ हो भन्ने बनाउने चाहना छ ।

थप केही भन्नुहुन्छ ?
स्थानीय चुनाव गर्न निर्वाचन आयोगले आँट गरेको छ यसलाई हामीले सकरात्मक रुपमा लिएका छौँ । संविधानलाई कार्यान्वयन गरेर मुलुकलाई समृद्ध बनाउने हाम्रो पार्टीको धारणा भएकाले यसमा हामी तल्लीन छौँँ । मिडियाले पनि सकरात्मक भूमिका निर्वाह गरोस् । म पार्टीको इमानदार सिपाही भएको हुनाले पाएको जिम्मेवारी इमान्दारिताकासाथ निभाउने छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट