वीरगन्ज नाकाबाट आठ महिनामा ३९ अर्ब बढीको इन्धन आयात

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

पर्सा, १६ चैत । भारतबाट वीरगन्ज नाका भएर चालु आवको आठ महिनामा रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलका अनुसार सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको हो ।

रक्सौल र बरौनी तेल डिपोबाट नेपालका लागि छ लाख ५० हजार २११ किलोलिटर डिजेल, पेट्रोल र मट्टितेल आयात गरिएको छ । यस्तै भारतको मथुरा, हल्दियालगायत स्थानबाट एक लाख १४ हजार एक सय १४ मेट्रिक टन खाना पकाउने (एलपिजी) ग्यास आयात भएको पोखरेलले बताए । भारतबाट इन्धन आयात गर्दा रु नौ अर्ब ११ करोड २४ लाख १९ हजार राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयका अनुसार वीरगन्ज नाकाबाट चालु आवको फागुनमा मात्र रु छ अर्ब २६ करोड आठ लाख ३७ हजारको ९४ हजार ९५५ किलोलिटर डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल तथा १३ हजार ८९४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ ।

भारतबाट फागुनमा मात्र २० हजार ८५ किलोलिटर पेट्रोल, ५९ हजार ८२५ किलोलिटर डिजेल, ७८९ किलोलिटर मट्टीतेल र १४ हजार २५६ किलोलिटर हवाई इन्धन वीरगन्ज नाकाबाट नेपाल भित्रिएको छ । कार्यालयले फागुनमा मात्र रु एक अर्ब ३३ करोड एक लाख राजस्व सङ्कलन गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट