३७७ हेक्टरको बाली बिमा

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

चितवन, १६ चैत । चितवनमा ३७७ दशमलव १३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीको बिमा गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार केरा, माछा र तरकारी बालीको बिमा गरिएको हो । जिल्लामा एक हजार ६२५ हेक्टरमा केरा, छ हजार ५७९ हेक्टरमा तरकारी र ५३९ हेक्टरमा माछापालन गरिँदै आएको छ ।

थापाका अनुसार बाली लगाई सकेपछि कुनै कारणले हानी हुन पुगेमा बालीको प्रकृति हेरी लागत मूल्यको ९० प्रतिशतसम्म बिमा कम्पनीले बेहोर्ने गरेको छ । माछामा वर्षात्को समयमा खोला पसेर माछा बगाउने तथा तरकारीलाई असिना पानीले प्रभाव पार्ने गरेको छ ।

बिमा गराउँदा लागत मूल्यको ७५ प्रतिशत सरकारले बेहोर्ने गरेको छ भने २५ प्रतिशत कृषकले बेहोर्नुपर्ने कानुनी प्रावधान रहेको छ । चालु आवमा २१० कृषकले बिमा गराएका छन् । बिमा गर्नेमा २०६ केरा व्यवसायी, तीन जना माछापालन व्यवसायी र एक जना तरकारी व्यवसायी रहेका छन् । आव २०७२/७३ मा २०६ कृषकले बाली बिमा गराएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट