निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलको मुआब्जा निर्धारण

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार

काठमाडौं, १५ चैत । निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल आयोजनाका लागि अधिग्रहण हुने जग्गाको मुआब्जा रकम टुंगो लागेको छ । दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थलको मुआब्जा निर्धारण समितिले निर्धारण गरेको हो ।

मुआब्जा निर्धारण समितिको बैठकले सोमबार प्रति कठ्ठा न्यूनतम २ लाख ४१ हजार ५०० देखि अधिकतम ४ लाख ६० हजार रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको हो । विस्थापनमा परेकामध्ये सडकले नछोएको जग्गा प्रतिकठ्ठा २ लाख ४१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ भने सडकले छोएको जग्गा ३ लाख ३९ हजार २ सय ५० रुपैयाँ प्रतिकठ्ठा निर्धारण गरिएको छ ।

त्यस्तै मूल सडकले छोएको जग्गा ४ लाख ६० हजार रुपैयाँ प्रतिकठ्ठा निर्धारण गरिएको छ । कल्हवी नगरपालिका वडा नम्बर ७ ककडी र करैया गाविस वडा नम्बर ८ काँटगाउँ क्षेत्रका जमिन अधिग्रहण हुँदैछन् ।

दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल आयोजनामा परि विस्थापित हुने र अन्यत्र घर जग्गा नहुनेहरुले सोको प्रमाण पनि पेस गरेमा एक कठ्ठाभन्दा कम जग्गा हुनेहरुले तोकेको मुआब्जा भन्दा ५० प्रतिशत थप रकम पाउने छन् ।

मुआब्जा रकम दाबी गर्नको लागि सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल जग्गाधनी प्रमाणपूर्जा, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिदलगायत जग्गाको हक÷भोगसम्बन्धी सबुद आफूसँग भएको प्रमाण पेश गर्नुपर्ने बताइएको छ ।

चैत १४ गतेदेखि खुलेको निवेदन दिने म्याद ३५ दिनसम्म कायम रहने र तोकिएको समयभित्र रितपूर्वकको निवेदन सहित दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल आयोजनाको कार्यालय रहेको सिमरा बिमानस्थल परिसर बारामा सम्पर्क गर्नुपर्ने जनाइएको छ । ३५ दिनभित्र निवेदन नपरेमा कानुनासार आयोजना अघि बढ्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट