भारु सहटी अन्योलमै

विनानिष्कर्ष फर्कियो आरबिआई टोली

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

काठमाडौं, १४ चैत । प्रतिबन्धित भारतीय नोट साट्ने विषयमा छलफल गर्न आएको भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)को टोली विनानिष्कर्ष फर्केको छ । आरबिआई र नेपाल राष्ट्र बैंकका अधिकारीबीच आइतबार र सोमबार काठमाडौंमा भएको वार्ता टुंगोमा पुग्न सकेन ।

भारले गत कात्तिक २३ गतेबाट आफ्ना हजार र पाँच सयका नोटलाई विमुद्रीकरण गरेको थियो । पछि सञ्चारमाध्यमा यसलाई नोटबन्दी भनिएको थियो । त्यसबेलादेखि नै राष्ट्र बैंकले नेपालमा भएको भारु नोटहरुलाई साटिदिन आरबिआईसँग आग्रह गरेको थियो । लामो कसरत पनि आरबिआईको टोली सो विषयमा छलफल गर्न काठमाडौं आएको थियो । दुई दिनको छलफलपछि पनि टुंगो लाग्न नसकेपछि भारतीय टोली आज फर्केको छ ।

प्रतिबन्ध लगाएको ५ महिना वित्दा समेत नेपालीसँग भएको त्यस्तो पैसा प्रयोगमा आउन त सकेको छैन । भारतीय टोली विना निष्कर्ष फर्केपछि यो अन्योलता कायमै रहेको छ । राष्ट्र बैंक स्रोतका अनुसार आजको बैठकमा पनि भारतीय पक्षले एकजना नेपालीको अधिकतम ४५ सय भारु मात्रै साट्ने हिजोकै अडान दोहो¥याएपछि आजको वार्ता विनानिष्कर्ष टुंगिएको हो ।

भारीय पक्षले प्रति व्यक्ति ४५ सय भारु साटिदिने नेपालीसँग भएको त्यस्तो पैसा संकलनको लागि १ हप्ताको समयमात्र दिने । भारु साट्ने व्यक्तिले भारुको स्रोत खुलाउनुपर्ने । साट्न लिएको पैसा सक्कली वा नक्कली भन्ने परीक्षणपछि मात्रै रकम साटिदिने । बैकिङ प्रणालीमा भएको रकम मात्रै साटिने प्रस्ताव गरेको थियो ।

नेपाली पक्षले चाहिँ एकजना नेपालीलाई २५ हजारसम्म भारु राख्ने अधिकार दिइएको हुनाले प्रतिव्यक्ति २५ हजार भारु साटिदिनु पर्ने । नेपालीसँग भएको त्यस्तो पैसा संकलनको लागि कम्तीमा ३ हप्ताको समय दिनुपर्ने । माग गर्दै साटिने पैसाको आय र सक्कली प्रमाणित भएपछि मात्रै साट्ने भारतीय प्रस्ताव स्वीकार गरेको थियो ।

दुई महिनाअघि नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकसँगको छलफलको क्रममा नेपालको बैंकिङ प्रणालीमा ३ करोड ६० लाख भारु भएको प्रतिक्रिया दिएको थियो । तर, दुई महिनाको अवधिमा बैंकिङ प्रणालीमा ४ करोड २३ लाख भारु थपिएको छ । अहिले नेपालको बैंकिङ प्रणालीमा मात्रै ७ करोड ८३ लाख भारु रहेको राष्ट्र बैंक स्रोतले बतायो । सर्वसाधारण र व्यापारीसँग यस्तो पैसा कति छ भन्ने विषयमा राष्ट्र बैंकसँगसमेत यकिन तथ्यांक छैन । नेपाल उद्योग वाणिज्य महासंघले अर्थ मन्त्रालयलाई गराएको जानकारीअनुसार बैंकिङ च्यानल बाहिर १५ अर्ब रुपैयाँ बराबरको ५ सय र हजारको नोट नेपालमा छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट